इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहले दक्षिण सुडानविरुद्धको अफ्रिका कप अफ नेसन्स छनोट खेल गुमाउने भएका छन्।
दक्षिण सुडानको राजधानी जुबामा आगामी मंगलबार हुने खेल कृत्रिम घाँसे मैदानमा खेलिने भएकाले सलाहलाई टोलीबाट बाहिर राखिएको इजिप्ट फुटबल संघले जनाएको छ।
इजिप्टको प्राविधिक टोली र सलाहबीच एंगोलाविरुद्धको खेलअघि नै दक्षिण सुडानविरुद्ध उनलाई नखेलाउने सहमति भएको थियो। खेलाडीलाई सम्भावित चोटबाट जोगाउन प्रशिक्षक होसाम हसनले उनलाई विश्राम दिने निर्णय गरेका हुन्।
सलाहले शुक्रबार एंगोलाविरुद्ध गोलरहित बराबरी खेलेका थिए। उक्त खेलमा उनी करिब एक घण्टा मैदानमा रहेर बाहिरिएका थिए।
कृत्रिम मैदानमा खेल्दा चोटको जोखिम बढी हुने धारणा रहे पनि यसबारे भएका केही अध्ययनले प्राकृतिक घाँसे मैदानको तुलनामा चोटको जोखिम बढी रहेको ठोस प्रमाण नभएको देखाएका छन्।
३४ वर्षीय सलाहले गत सिजनको अन्त्यमा लिभरपुल छाडेर टर्किस क्लब ट्राब्जोनस्पोरसँग आबद्ध भएका थिए। लिभरपुलमा नौ वर्ष बिताउँदा उनले ४४२ खेलमा २५७ गोल गर्दै ९ वटा प्रमुख उपाधि जितेका थिए।
ट्राब्जोनस्पोरबाट जारी टर्किस सुपर लिगमा सलाहले ६ खेलमै ७ गोल र २ असिस्ट गरिसकेका छन्।