इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।
खेल सुरु भएको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका हुन्।
तर घरेलु टोलीले पहिलो हाफमै खेल उल्टायो। ३६औँ मिनेटमा एन्थोनी गोर्डनले जुड बेलिङघमको पासमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा भने स्पेनले उत्कृष्ट पुनरागमन गर्यो। ५५औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाए पनि केनले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। बेलिङ्घमलाई रोड्रीले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरमा केनले प्रहार गर्दा बल बारमा लाग्यो।
त्यसको पाँच मिनेटपछि ६०औँ मिनेटमा एलेक्स बाएनाले गोल गर्दै स्पेनलाई २–२ को बराबरीमा ल्याए। इंग्ल्यान्डका निको ओ’राइलीले बल गुमाएपछि स्पेनले त्यसको फाइदा उठाएको थियो।
खेल सकिन १६ मिनेट बाँकी रहँदा मिखेल ओयार्जाबालले निर्णायक गोल गरे। उत्कृष्ट पासिङपछि उनले गोलरक्षक जेम्स ट्राफोर्डमाथिबाट बल चिप गर्दै स्पेनलाई ३–२ को जित दिलाए।
यस जितसँगै स्पेनको अपराजित यात्रा ३९ खेलसम्म पुगेको छ। इंग्ल्यान्डले भने आफ्नै गल्तीका कारण खेल गुमाएको हो।
वेम्बलीमा ८४ हजार ५२५ दर्शक उपस्थित थिए। इंग्ल्यान्डले अब मंगलबार चेक रिपब्लिकको सामना गर्नेछ भने स्पेनले सोही दिन क्रोएसियासँग खेल्नेछ।