पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले आफू शिविरबाट बाहिरिनुको कारण भने अहिले सार्वजनिक गरेका छैनन्।
‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको छु,’ रोनाल्डोले लेखेका छन्, ‘समय आएपछि म पोर्चुगलका सबैलाई शिविर छाड्नुको कारणबारे सत्य बताउनेछु।’
उनले आगामी खेलका लागि आफ्ना सहकर्मी खेलाडीहरूलाई शुभकामना पनि दिएका छन्।
रोनाल्डोले प्रशिक्षण शिविर छाड्नुअघि पोर्चुगलका प्रशिक्षक जर्ज जिजसले टोलीभित्र कुनै विवाद नरहेको बताएका थिए।
नर्वेविरुद्धको खेलमा रोनाल्डोले खेल्न नपाएपछि उनी प्रशिक्षकसँग असन्तुष्ट भएको र मंगलबारको प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएका थिए।
तर जिजसले रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार नगरेको बताएका थिए। उनका अनुसार रोनाल्डोले मंगलबार टोलीका अन्य खेलाडीभन्दा फरक रूपमा ‘शारीरिक चलायमानता र मांसपेशी मजबुती’का लागि व्यक्तिगत अभ्यास गरेका थिए।
‘कुनै घटना नै भएको छैन,’ जिजसले पत्रकार सम्मेलनमा भनेका थिए, ‘म आफैं पनि खेलाडी थिएँ। २०–३० मिनेट वार्मअप गरेपछि खेल्न नपाउँदा कोही पनि खुसी हुँदैन।’
उनले नर्वेविरुद्धको खेलअघि रोनाल्डोलाई सुरुवाती टोलीमा नराख्ने जानकारी दिएको र आवश्यक परे खेलको क्रममा मैदानमा पठाउने योजना रहेको बताएका थिए। तर पछि रोनाल्डोलाई मैदानमा नपठाउने निर्णय गरेको उनको भनाइ थियो।
नर्वेविरुद्ध पोर्चुगल २–१ ले विजयी हुँदा गोन्सालो रामोसले निर्णायक गोल गरेका थिए। जिजसले डेनमार्कविरुद्धको खेलमा पनि रामोसलाई रोनाल्डोभन्दा प्राथमिकता दिने बताएका थिए।
‘मलाई रोनाल्डोको आवश्यकता पर्यो भने उनी मैदानमा आउनेछन्। आवश्यकता परेन भने आउने छैनन्,’ जिजसले भनेका थिए।
नर्वेविरुद्धको खेलपछि रोनाल्डो टोलीका खेलाडीहरू समर्थकतर्फ जाँदा उनीहरूसँग गएका थिएनन्। उनी सिधै ड्रेसिङ रुमतर्फ गएका थिए। त्यसपछि पोर्चुगलको सञ्चारमाध्यममा रोनाल्डो र प्रशिक्षकबीच असन्तुष्टि रहेको समाचार आएका थिए।
डेनमार्कविरुद्धको खेलका लागि टोली पार्केन रंगशालामा पुगेका बेला रोनाल्डो दुई जना टोलीका कर्मचारीसँगै रंगशालाबाट बाहिरिएको भिडिओ पनि सार्वजनिक भएको थियो।
पोर्चुगिज फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ।
महासंघले बाँकी २४ खेलाडीसहित डेनमार्क र नर्वेविरुद्धका खेलको तयारी पूर्वनिर्धारित योजनाअनुसार अघि बढ्ने जनाएको छ।
रोनाल्डोले यसअघि आगामी विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोचिरहेको बताएका थिए। तर आफ्नो व्यावसायिक करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्य पछ्याउँदै उनले खेललाई निरन्तरता दिने निर्णय गरेका थिए।