पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सन् २०२६ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने सोच बनाइसकेको खुलासा भएको छ। तर, पोर्चुगलका प्रशिक्षक जर्ज जेससले उनलाई राष्ट्रिय टोलीमा निरन्तरता दिन मनाएका थिए।
पोर्चुगिज पत्रकार नुनो लुजले रोनाल्डो र जेससबीच पछिल्लो समय देखिएको विवादको भित्री कथा सार्वजनिक गर्दै यी दुईबीचको सम्बन्ध सुधार्न पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्सासहित भएको आकस्मिक बैठकबारे पनि खुलासा गरेका छन्।
विवादको सुरुवात नर्वेविरुद्धको पछिल्लो खेलबाट भएको थियो। उक्त खेलमा पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो पूरै समय बेन्चमै थिए। मैदानमा नउत्रिएपछि अल नासरका स्टार रोनाल्डो प्रशिक्षक जेसससँग असन्तुष्ट बने।
नर्वेविरुद्धको खेलपछि रोनाल्डो प्रशिक्षणमा समेत सहभागी भएनन्। त्यसपछि उनले जेसससँग कुराकानी गरे र दुवैबीचको विवाद तत्कालका लागि समाधान भएको जस्तो देखिएको थियो।
तर, डेनमार्कविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा जेससले आफूले लिएको निर्णयमा कुनै पनि खेलाडी वा फुटबलसँग सम्बन्धित अन्य व्यक्तिले प्रभाव पार्न नसक्ने बताए। त्यसपछि रोनाल्डो
पोर्चुगलको प्रशिक्षण शिविर छाडेर म्याड्रिडतर्फ लागेका थिए।
पत्रकार नुनो लुजका अनुसार रोनाल्डोको पोर्चुगल यात्राको अन्त्य यसरी हुनु उचित होइन।
‘क्रिस्टियानोको पोर्चुगल यात्राको अन्त्य यसरी हुनु हुँदैन। जे भयो, त्यो राम्रो होइन। यसले नराम्रो छाप छोड्छ,’ उनले रेडियो मार्काको कार्यक्रम ‘ला ट्रिबु’मा भनेका छन्।
लुजले पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्सासँग आफूले कुराकानी गरेको पनि बताएका छन्। उनका अनुसार अध्यक्ष प्रोएन्सा पनि घटनाबाट निकै असन्तुष्ट थिए।
‘उनी यस विषयमा निकै रिसाएका थिए। यो यसरी अन्त्य हुनु हुँदैन, किनभने क्रिस्टियानोको आफ्नै इतिहास छ। उनी हाम्रो इतिहासको हिस्सा हुन्,’ लुजले भने।
लुजका अनुसार रोनाल्डोले २०२६ को विश्वकपपछि पोर्चुगलको राष्ट्रिय टोलीबाट अलग हुने सोच बनाइसकेका थिए। विश्वकपलाई नै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम बिन्दुका रूपमा हेरेका थिए।
तर, जर्ज जेससले उनलाई आफ्नो निर्णय परिवर्तन गर्न मनाए।
‘जर्ज जेससले उनलाई निरन्तरता दिन मनाउने प्रयास गरे। गर्मीयाममा प्रशिक्षकले उनलाई हरेक दिन घरमै फोन गर्थे। आफू नै यो परियोजनाको नेतृत्व गर्न जिम्मेवार व्यक्ति भएको भन्दै उनले रोनाल्डोलाई विश्वस्त पार्ने प्रयास गरे,’ लुजले भने।
विषय यतिसम्म पुगेको थियो कि जेसस र पोर्चुगल फुटबल महासंघका अध्यक्ष प्रोएन्सा रोनाल्डोलाई भेट्न उनको कास्काइसस्थित घरमै पुगेका थिए। त्यहाँ तीन जनाबीच कुराकानी भएको थियो।
त्यसपछि उनीहरूबीच एउटा सहमति बनेको लुजले बताएका छन्।
‘सबै कुरा मिलेको थियो। रोनाल्डोले वेल्सविरुद्धको पहिलो खेल र घरेलु मैदानमा आइतबार हुने नर्वेविरुद्धको अन्तिम खेल खेल्ने इच्छा राखेका थिए,’ उनले भने।
‘३० मिनेट खेलाउँछु’ भन्ने वाचा नै विवादको कारण
नर्वेविरुद्धको खेलकै दिन विवाद थप चर्किएको थियो। खेलको बिहान जेससले रोनाल्डोलाई फोन गरेर आफ्नो योजना परिवर्तन भएको बताएका थिए।
‘मैले आफ्नो सोच परिवर्तन गरेको छु। तिमी महत्वपूर्ण खेलाडी बन्न सक्छौ र म तिमीलाई ३० मिनेट खेलाउनेछु,’ जेससले रोनाल्डोलाई भनेका थिए।
तर, नुनो लुजका अनुसार यही वाचा प्रशिक्षकको मुख्य गल्ती बन्यो।
‘यदि कुनै खेलाडीलाई सुरुआती ११ मा राखिएको छैन भने विश्वको कुनै पनि प्रशिक्षकले उसलाई ३० मिनेट खेलाउने वाचा गर्नु हुँदैन,’ लुजले भने।
खेलको परिस्थिति पनि जेससको योजनाअनुसार रहेन। पोर्चुगल २–१ ले अघि रहेपछि खेलमा अग्रता जोगाउन रक्षात्मक रणनीति अपनाउनुपर्ने अवस्था आयो। त्यसैले रोनाल्डोलाई मैदानमा पठाउने योजना कार्यान्वयन हुन सकेन।
त्यसपछि रोनाल्डोको असन्तुष्टि थप बढ्यो र अन्ततः विषय महासंघका अध्यक्षसमेत सहभागी हुने बैठकसम्म पुगेको थियो।
नुनो लुजका अनुसार अध्यक्ष प्रोएन्सा तत्काल यात्रा गरेर पुगेपछि तीन पक्षबीच बैठक भएको थियो।
बैठकमा सबैले राष्ट्रिय टोलीलाई प्राथमिकतामा राख्ने सहमति गरेका थिए।
‘राष्ट्रिय टोलीमा फर्कौं। राष्ट्रिय टोली नै सबैभन्दा महत्वपूर्ण हो र अब सबै कुरा सही ढंगले अघि बढाऔं,’ बैठकमा भएको सहमति उद्धृत गर्दै लुजले भने।
जेससले आफूबाट गल्ती भएको स्वीकार गरेका थिए। उनले रोनाल्डोलाई ३० मिनेट खेलाउने वाचा गर्नु हुँदैनथ्यो भन्ने स्वीकार गरे।
त्यसैगरी रोनाल्डोले पनि आफ्ना साथी खेलाडीहरूसँग राष्ट्रिय टोलीमा रहनुपर्ने कुरा स्वीकार गरेको लुजले बताएका छन्। त्यसपछि दुवै पक्षबीच सहमति बनेको थियो।
पत्रकार सम्मेलनपछि फेरि बढ्यो तनाव
तर, यो सहमति लामो समय टिक्न सकेन।
लुजका अनुसार रोनाल्डोले जेससबाट पत्रकार सम्मेलनमा आफू र पछिल्लो घटनाबारे केही विशेष कुरा आउने अपेक्षा गरेका थिए। तर, जेससले पत्रकार सम्मेलनमा त्यस्तो कुनै कुरा उल्लेख गरेनन्।
‘रोनाल्डो रंगशालामै पुगिसकेका थिए र पत्रकार सम्मेलन सुनिरहेका थिए। तर, जेससले त्यस विषयमा केही पनि भनेनन्,’ लुजले बताए।
यसपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडेर म्याड्रिड जाने निर्णय गरेको बताइएको छ।
नुनो लुजले रोनाल्डोको पोर्चुगल करियरको अन्त्य सम्मानजनक ढंगले हुनुपर्ने धारणा राखेका छन्।
‘अन्त्य फरक हुनुपर्छ। रोनाल्डो सम्मान र विदाइ खेलका हकदार छन्,’ उनले भने।
अब रोनाल्डोले यस विवादबारे आफ्नै धारणा कहिले सार्वजनिक गर्छन् भन्ने चासो बढेको छ। लुजका अनुसार रोनाल्डोले तत्काल प्रतिक्रिया दिने सम्भावना कम छ्
‘मलाई लाग्दैन अहिले बोल्ने सही समय हो। राष्ट्रिय टोलीका यी खेलहरू सकिएपछि उनी बोल्नेछन्। उनले आफ्नो पक्ष प्रस्तुत गर्ने बताएका छन्,’ लुजले भनेका छन्।