क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले नेसन्स लिगमा डेनमार्कमाथि ४–२ को प्रभावशाली जित निकाल्दै उनको अनुपस्थितिमा पनि टोलीको आक्रामक क्षमता देखाएको छ।
रोनाल्डो टोलीबाट बाहिरिएपछि खेलेको पहिलो खेलमा पोर्चुगलले दुईपटक अग्रता गुमाए पनि अन्ततः चार गोल गर्दै डेनमार्कलाई पराजित गरेको हो।
पोर्चुगलका लागि जोआओ क्यान्सेलो र गोन्कालो रामोसले सुरुवाती दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर डेनमार्कका मिकेल डाम्सगार्ड र रास्मुस होइलुन्डले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर होइलुन्डले गोल गरेपछि रोनाल्डोको चर्चित ‘सिउउ’ सेलिब्रेसन गरेका थिए। उनले यसअघि पनि पोर्चुगलविरुद्ध गोल गर्दा यही सेलिब्रेसन गरेका थिए।
बराबरीपछि पोर्चुगलले खेलमा पुनः नियन्त्रण बनायो। भिटिन्हाले ब्रुनो फर्नान्डेसको पासमा हेडमार्फत गोल गर्दै पोर्चुगललाई तेस्रोपटक अग्रता दिलाए। खेलको अन्तिमतिर जोआओ फेलिक्सले अर्को गोल थपेपछि पोर्चुगलले ४–२ को जित सुनिश्चित गर्यो।
यो खेल ४१ वर्षीय रोनाल्डो टोलीको क्याम्पबाट बाहिरिएपछि पोर्चुगलले खेलेको पहिलो खेल थियो। नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि उनी टोलीबाट बाहिरिएका थिए।
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरिसकेका छन्। उनी लामो समयदेखि पोर्चुगलको टोलीमा नियमित पहिलो रोजाइमा रहँदै आएका थिए।
तर उमेरसँगै उनको गतिशीलता घट्दै गएको र त्यसले राष्ट्रिय टोलीको प्रदर्शनमा असर गरिरहेको चर्चा पनि हुँदै आएको छ। रोनाल्डोले क्लब र राष्ट्रिय टोलीका लागि आफ्नो करिअरमा ९७९ गोल पूरा गरिसकेका छन्।
पोर्चुगलका प्रशिक्षक जर्ज जेसुसले भने टोलीमा खेलाडीको हैसियत भए पनि नियम सबैका लागि समान हुने बताएका छन्।
उनले भने, 'मेरो सोच अझै उस्तै छ। केही खेलाडीको विशेष हैसियत हुन्छ, त्यो स्पष्ट छ। तर नियम सबैका लागि समान हुन्छन्। मैले आफ्नो प्रशिक्षक करिअरभरि यही विधि अपनाएको छु र यसलाई निरन्तरता दिनेछु।'
यसैबीच, जर्मनीले पनि नेसन्स लिगमा सर्बियामाथि जित निकाल्दै प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा पहिलो जित दर्ता गरेको छ।
म्युनिखमा जर्मनीले सर्बियालाई हराउँदा टोम बिसोफ र फ्लोरियन विर्ट्जले गोल गरे। विर्ट्जले खेलमा प्रभावशाली प्रदर्शन गर्दै एक गोल पनि गरे।
यसअघि क्लोपको जर्मनीले नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो भने ग्रीससँग पराजित भएको थियो। चार खेलका लागि क्लोपले ४४ खेलाडी समेटिएको ठूलो टोली घोषणा गरेका थिए र पछिल्लो खेलपछि टोलीमा व्यापक परिवर्तन गरिएको थियो।
खेलको अर्को विशेष पक्ष भने सेल्टिकका मिडफिल्डर मिका बाउरको डेब्यु रह्यो। उनी जर्मनीको पुरुष राष्ट्रिय टोलीबाट खेल्ने ,०००औँ खेलाडी बनेर इतिहासमा नाम लेखाउन सफल भए।