पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र मुख्य प्रशिक्षक जर्ज जेसुसबीचको विवादले राष्ट्रिय टोलीभित्रको वातावरणलाई थप चर्चामा ल्याएको छ।
नर्वेविरुद्धको नेसन्स लिग खेलमा रोनाल्डोलाई पहिलोपटक लामो समयपछि राष्ट्रिय टोलीको खेलमा बेन्चमै सीमित गरिएको थियो। पोर्चुगलले उक्त खेल २–१ ले जिते पनि रोनाल्डो मैदान प्रवेश गर्न पाएनन्।
सन् २००८ पछि पहिलोपटक रोनाल्डो आफ्नो देशका लागि प्रयोग नै नभएका सब्स्टिच्युट बनेका थिए। बिबिसीसँग कुरा गर्दै स्पेनिस फुटबल विशेषज्ञ गिलेम बालागेले रोनाल्डोलाई दोस्रो हाफभरजसो वार्मअप गराएर पनि मैदानमा नपठाइएको बताए।
उनका अनुसार फुटबलमा केही स्थापित खेलाडीका लागि एउटा ‘अलिखित नियम’ जस्तै हुन्छ।
‘पेले, डिएगो म्याराडोना, लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोसँग त्यसरी व्यवहार गरिँदैन भन्ने मान्यता छ,’ बालागेले भनेका छन्।
जेसुसले भने रोनाल्डोसँग कुनै विवाद नरहेको दाबी गरेका थिए। तर त्यसपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडे। उनले आफ्नो निर्णयको वास्तविक कारण ‘समय आएपछि’ बताउने संकेत गरेका छन्।
बालागेका अनुसार रोनाल्डोसँग निकट रहेका केही पत्रकारले घटनाको पूर्ण विवरण पछि सार्वजनिक हुने बताइरहेका छन्। उनका अनुसार रोनाल्डोलाई केही कुरा भनिएको वा आश्वासन दिइएको हुन सक्ने र त्यो पूरा नभएको हुनसक्छ।
रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीसँगको यात्रा यही घटनाबाट अन्त्य गर्न नचाहने भए पनि विवाद सहजै समाधान हुने अवस्था नरहेको बालागेको विश्लेषण छ।
पोर्चुगिज फुटबल विशेषज्ञ मार्कस अल्भेसका अनुसार रोनाल्डो र जर्ज जेसुसबीच टकराव हुनु धेरैका लागि आश्चर्यजनक भए पनि यी दुई व्यक्तित्व एउटै ड्रेसिङ रुममा हुँदा यस्तो अवस्था आउन सक्ने अनुमान पहिल्यै गर्न सकिन्थ्यो।
रोनाल्डोलाई पोर्चुगलको इतिहासकै महान् खेलाडीमध्ये एक मानिन्छ भने जेसुस आफ्नो स्पष्ट र कडा शैलीका लागि परिचित छन्।
रोबर्टो मार्टिनेजको तुलनामा जेसुसको शैली निकै प्रत्यक्ष र कडा रहेको विश्लेषण गरिएको छ। उनी खेलाडीको प्रतिष्ठाभन्दा टोलीका नियमलाई प्राथमिकता दिने प्रशिक्षकका रूपमा प्रस्तुत हुँदै आएका छन्।
पोर्चुगलका पछिल्ला पाँच प्रशिक्षकमध्ये चार जनासँग रोनाल्डोको कुनै न कुनै किसिमको समस्या देखिएको तथ्यसमेत विश्लेषणमा उल्लेख गरिएको छ। कार्लोस क्वेइरोज, पाउलो बेन्टो, फर्नान्डो सान्तोसपछि जेसुससँग पनि उनको सम्बन्ध तनावपूर्ण बनेको छ।
यसले रोनाल्डोको व्यक्तिगत विवादभन्दा बाहिर राष्ट्रिय टोलीको वातावरण र टोलीको प्राथमिकताबारे पनि बहस बढाएको छ।
रोनाल्डोले पोर्चुगलका लागि ऐतिहासिक योगदान दिएका छन्। उनले पोर्चुगललाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता हुन् र युरोपियन च्याम्पियनसिप इतिहासका पनि सर्वाधिक गोलकर्ता हुन्।
तर पछिल्ला वर्षमा राष्ट्रिय टोलीमा रोनाल्डोको भूमिकालाई लिएर बहस निरन्तर हुँदै आएको छ।
सन् २०२२ को विश्वकपको नकआउट चरणमा तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राखेका थिए। त्यसपछि पनि रोनाल्डो राष्ट्रिय टोलीको पहिलो रोजाइमा फर्किएका थिए।
अर्कोतर्फ, पछिल्ला केही वर्षको तथ्यांकले रोनाल्डोबिनाको पोर्चुगलको प्रदर्शनबारे पनि बहस गर्ने आधार दिएको छ।
पछिल्ला पाँच वर्षमा विश्वकप वा युरो छनोटका क्रममा रोनाल्डोले केवल दुई खेल गुमाएका छन्, दुवै खेलमा उनी निलम्बनमा थिए। ती दुवै खेलमा पोर्चुगलले ९–० र ९–१ को फराकिलो जित निकालेको थियो।
सन् २०१७ यता रोनाल्डोबिनाको पोर्चुगलको जित प्रतिशत ६४ प्रतिशत रहेको छ भने उनी खेल्दा ६३ प्रतिशत छ। त्यस्तै, रोनाल्डोबिनाको अवस्थामा पोर्चुगलले प्रतिखेल औसत २.७ गोल गरेको छ भने उनी खेल्दा यो औसत २.१ गोल रहेको तथ्यांकले देखाउँछ।
यसले रोनाल्डोको महान् अन्तर्राष्ट्रिय योगदान र उनको वर्तमान भूमिकाबारे पोर्चुगलमा चलिरहेको बहसलाई थप रोचक बनाएको छ।