बालगोपाल साहुखलले नेपाली फुटबलमा नयाँ इतिहास रचेका छन्। अस्ट्रेलियामा एक वर्ष लामो प्रशिक्षण पूरा गरेपछि साहुखल एएफसी प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली नागरिक बनेका छन्।
साहुखलले २ अक्टोबर २०२६ मा आफ्नो प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष सफलतापूर्वक पूरा गरेका हुन्। फुटबल अस्ट्रेलियाको आयोजनामा सञ्चालन भएको उक्त कोर्षलाई एसियन फुटबल महासंघ (एएफसी) ले मान्यता दिएको छ।
प्रो लाइसेन्स फुटबल प्रशिक्षकका लागि उच्च तहको व्यावसायिक प्रशिक्षण मानिन्छ। यसमा उच्चस्तरीय प्रशिक्षण रणनीति, नेतृत्व, खेल विश्लेषण, खेलाडी विकास तथा प्रशिक्षक टोली व्यवस्थापनलगायतका विषयमा गहन अध्ययन र व्यावहारिक प्रशिक्षण गराइन्छ।

साहुखलले करिब एक वर्षअघि यही लक्ष्य लिएर अस्ट्रेलियाको यात्रा गरेका थिए।
अस्ट्रेलिया प्रस्थान गर्नुअघि साहुखलले प्रो लाइसेन्स आफ्नो व्यक्तिगत मात्र नभई नेपाली फुटबलकै लागि महत्वपूर्ण उपलब्धि हुने बताएका थिए। उनले कोर्ष पूरा गरेपछि कम्तीमा दुईदेखि तीन वर्ष नेपालमै रहेर नेपाली फुटबलको विकासमा योगदान गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
राष्ट्रिय टोलीमा अनिवार्य रुपमा प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनु पर्ने एएफसीको नियम छ। तर नेपालमा प्रो लाइसेन्स प्रशिक्षक नहुँदा विदेशी प्रशिक्षक नियुक्त गर्ने गरिएको छ।
साहुखल यसअघि नेपाली फुटबलमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सक्रिय रहिसकेका छन्। उनले ए डिभिजन लिगमा खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए भने च्यासल युथ क्लब ए डिभिजनमा रहँदा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली यू–१९ महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकसमेत भइसकेका छन्।
यसअघि अमेरिकामा रहेका नेपाली प्रशिक्षक प्रदीप हुमागाईंले प्रो लाइसेन्ससम्बन्धी कोर्ष गरेका थिए। तर साहुखलले फुटबल अस्ट्रेलिया र एएफसीको मान्यतासहितको प्रो लाइसेन्स प्रशिक्षण पूरा गरी योग्यता हासिल गर्ने पहिलो नेपाली नागरिकको उपलब्धि आफ्नो नाममा लेखाएका छन्।
एएफसीले राष्ट्रिय टोलीको उच्चस्तरीय प्रशिक्षणका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवश्यकतालाई महत्व दिँदै आएको छ। त्यसैले साहुखलको यो उपलब्धिले व्यक्तिगत करियरसँगै नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक उत्पादन र व्यावसायिक कोचिङ विकासका लागि पनि नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
एक वर्षअघि अस्ट्रेलिया पुग्दा सुरु भएको साहुखलको यात्रा अब नेपाली फुटबलको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धिका रूपमा दर्ज भएको छ।