लियोनल मेसीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल करिअरलाई सुखद बिदाइ गर्ने तयारी गरिरहेका बेला क्रिस्टियानो रोनाल्डोको पोर्चुगल यात्रा भने विवादबीच टुंगिने सम्भावना बढेको छ।
४१ वर्षीय रोनाल्डोले नर्वेविरुद्धको नेसन्स लिग खेलमा बेन्चमा बसेर लामो समय ‘वार्मअप’ गरे पनि मैदान प्रवेशको अवसर नपाएपछि असन्तुष्टि जनाएका थिए। खेल सकिएलगत्तै उनी आफ्ना सहकर्मीसँग समर्थकलाई अभिवादन गर्न नपर्खी सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए।
नयाँ प्रशिक्षक जर्ज जेससले डेनमार्कविरुद्ध पनि रोनाल्डो सुरुआती टोलीमा नपर्ने बताएपछि उनले पोर्चुगलको प्रशिक्षण क्याम्प नै छाडे। त्यसपछि सामाजिक सञ्जालमा रोनाल्डोले आफू किन राष्ट्रिय टोलीबाट बाहिरिएको हो, त्यसको ‘सत्य’ समय आएपछि पोर्चुगलका जनतालाई बताउने बताएका थिए।
पोर्चुगल फुटबल संघका अध्यक्ष पेड्रो प्रोएन्साले विवाद समाधान गर्न कोपनहेगन पुगेर रोनाल्डोसँग छलफल गरे पनि तत्काल समाधान निस्किएन। तर प्रशिक्षक जेससले भने रोनाल्डो राष्ट्रिय टोलीमा फर्किन चाहे आफू स्वागत गर्न तयार रहेको स्पष्ट पारेका छन्।
‘उनी फर्किन चाहन्छन् भने फर्किन सक्छन्। राष्ट्रिय टोलीबाट आफ्नो यात्रा कसरी अन्त्य गर्ने भन्ने निर्णय रोनाल्डो आफैंले गर्नुपर्छ,’ जेससले भनेका छन्।
रोनाल्डोको भविष्यलाई लिएर पोर्चुगलमै पनि मत विभाजित देखिएको छ। लिस्बनका विभिन्न स्थानमा रोनाल्डोको समर्थन र जेससको आलोचना गर्दै पोस्टर राखिएका छन्। केही समर्थकले रोनाल्डोलाई पोर्चुगलको महान् कप्तान भन्दै सम्मान गरेका छन् भने अर्कोतर्फ केही समर्थक र सञ्चारमाध्यमले उनको पछिल्लो व्यवहारलाई स्वार्थी र टोलीका लागि विचलन सिर्जना गर्ने खालको भनेका छन्।
पोर्चुगलका सञ्चारमाध्यममा पनि फरक–फरक प्रतिक्रिया आएका छन्। केहीले यसलाई ‘ऐतिहासिक युगको अन्त्य’ भनेका छन् भने केहीले रोनाल्डोले राष्ट्रिय टोलीतर्फ नै पिठ्युँ फर्काएको टिप्पणी गरेका छन्।
पोर्चुगलका लागि रोनाल्डोको योगदान भने असाधारण छ। उनले २३४ खेलमा १४६ गोल गरेका छन्, जुन दुवै राष्ट्रिय टोलीका विश्व कीर्तिमान हुन्। तर पछिल्ला वर्षमा उनको उपस्थितिले टोलीभन्दा बढी विवाद जन्माइरहेको आलोचना पनि बढेको छ।
पछिल्ला नौ वर्षको तथ्यांकमा रोनाल्डोबिनाको पोर्चुगलको जित प्रतिशत ६४ प्रतिशत छ भने उनी खेल्दा ६३ प्रतिशत। रोनाल्डोबिना पोर्चुगलले औसत २.७ गोल गर्दा उनीसहित २.१ गोल गरेको तथ्यांक पनि छ।
रोनाल्डोको करिअरमा ९७९ गोल पुगिसकेको छ र १ हजार गोलको लक्ष्य अझै बाँकी छ। तर अब ठूलो प्रश्न छ—उनले त्यो लक्ष्य क्लब फुटबलमै पूरा गर्नेछन् कि पोर्चुगलका लागि फेरि मैदानमा फर्किएर आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई उचित अन्त्य दिनेछन्?
नोभेम्बरमा हुने पोर्चुगलको अर्को खेलअघि रोनाल्डोले लिने निर्णयले उनको मात्र होइन, पोर्चुगल फुटबलको एउटा युगको अन्त्य कसरी हुन्छ भन्ने पनि तय गर्नेछ।