स्पेनिस ला लिगा क्लब रायो भालेकानोका समर्थकले क्लबका मालिकविरुद्ध अनौठो शैलीमा विरोध प्रदर्शन गरेपछि एथलेटिक क्लबविरुद्धको खेल नै रद्द भएको छ।
शनिबार भएको खेलमा घरेलु समर्थकले मैदानमा कागजका जहाज र साना रबरका बल फ्याँकेका थिए। क्लबका मालिक तथा अध्यक्ष राउल मार्टिन प्रेसाको विरोधमा समर्थकले यस्तो प्रदर्शन गरेका हुन्।
रायोको घरेलु मैदान एस्टाडियो डी भालेकासमा यो सिजनको पहिलो खेल थियो। तर, स्वास्थ्य र सुरक्षासम्बन्धी गम्भीर समस्या देखिएपछि केही समयका लागि बन्द गरिएको उक्त मैदानमा खेल सञ्चालन गरिएको थियो। निरीक्षणका क्रममा ‘लिजोनेयर्स’ नामक रोग लाग्न सक्ने जोखिमसमेत औँल्याइएको थियो।
क्लबका समर्थकले लामो समयदेखि अध्यक्ष प्रेसाको आलोचना गर्दै आएका छन्। उनीहरूले क्लबका भौतिक संरचनाको उचित मर्मतसम्भार नगरेको र सुविधाहरू आधुनिक बनाउन ध्यान नदिएको आरोप लगाउँदै आएका छन्।
खेलको १३औँ मिनेटमा समर्थकले ‘प्रेसा, अब क्लब छाड’ भन्ने नारासहित मैदानमा कागजका जहाज र रबरका बल फ्याँके। त्यसपछि रेफ्रीले खेल रोके। मैदानमा फ्याँकिएका वस्तु हटाउन सुरक्षाकर्मीलाई समय लाग्यो। रंगशालाका उद्घोषकले पनि समर्थकलाई मैदानमा वस्तु नफ्याँक्न आग्रह गरे।
करिब १५ मिनेटपछि खेल पुनः सुरु भयो। तर, दक्षिणतर्फको प्यारापिटमा रहेका समर्थकले फेरि मैदानमा वस्तु फ्याँक्न थाले। त्यसपछि रेफ्रीले खेल रद्द गर्ने निर्णय लिए। खेल रद्द हुँदा दुवै टोलीले गोल गर्न सकेका थिएनन्।
खेल रद्द भएपछि एथलेटिक क्लबले म्याड्रिड पुगेर खेल हेर्न आएका आफ्ना समर्थकलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था मिलाउने जनाएको छ।
रायो भालेकानोको व्यवस्थापनप्रति असन्तुष्टि नयाँ भने होइन। गत सिजन स्पेनिस फुटबल संघले सार्वजनिक गरेको रायोका खेलाडीहरूले लेखेको पत्रमा घरेलु मैदानको पिचलाई ‘खेल्नै नसकिने अवस्था’ मा रहेको उल्लेख गरिएको थियो। खेलाडीहरूले ड्रेसिङ रुममा नुहाउन तातो पानीको व्यवस्था नभएको र सरसफाइ पनि कमजोर रहेको गुनासो गरेका थिए।
त्यति मात्र होइन, ढुसीका कारण रायोले गत सिजन आफ्नै प्रशिक्षण मैदानसमेत प्रयोग गर्न पाएको थिएन। क्लबले व्यवस्थापकीय समस्याको सामना गरिरहे पनि युरोपेली फुटबलमा भने राम्रो प्रदर्शन गरेको थियो। रायो यूईएफए कन्फरेन्स लिगको फाइनलसम्म पुगेको थियो। तर, फाइनलमा क्रिस्टल प्यालेससँग १–० ले पराजित भयो।
क्लबको व्यवस्थापनप्रति समर्थकको असन्तुष्टि टिकट खरिदमा पनि देखिन्छ। स्पेनको शीर्ष डिभिजनमा खेल्ने क्लबमध्ये रायोसँग मात्रै अनलाइन टिकट बिक्री गर्ने वेबसाइट छैन। त्यसैले समर्थकले खेलको टिकट किन्न रंगशालाको सानो टिकट काउन्टरमा घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ।
ला लिगामा रायोले सुरुवाती सात खेलबाट दुई जित हासिल गरेको छ। टोली १३औँ स्थानमा छ।