बाघ भैरव दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघ भैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको प्रतियोगितामा ठैव ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको भृकुटिले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पार्यो ।
नेपाल गोजुकाइ कराते डो संघको आयोजना तथा मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भएको प्रतियोगिताको पुरुषमा चिल्ड्रेन मोडेलका साइमन मल्ल तथा महिलामा अरनिकोकी उर्मिला चेपाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वयलाई आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रोत्साहन स्वरुप जनही ६ हजार नगद पुरस्कार प्रदान गरेको आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्र खड्गे शाहीले जनाएका छन् ।
विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पाँखखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, पूर्व प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा आयोजक संघका उपाध्यक्ष डा. जंगबहादुर हमाललाई पनि सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा २ सय २० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका उपाध्यक्ष एवं प्रचार प्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।