फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा आयोजक अमेरिकालाई ४-१ ले पराजित गरेपछि बेल्जियमका खेलाडीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफाको निर्णयमाथि कडा कटाक्ष गरेका छन्। अमेरिकी स्ट्राइकर फोलारिन बालोगनको एक खेल प्रतिबन्ध फिफाले फुकुवा गरेपछि बेल्जियमले यसलाई ‘अन्याय’ भन्दै मैदानमै त्यसको कडा जवाफ दिएको हो।
अघिल्लो खेलमा रातो कार्ड पाएका कारण अमेरिकी स्टार खेलाडी बालोगनले बेल्जियमविरुद्धको खेल गुमाउनुपर्ने निश्चित थियो। तर, खेल हुनुभन्दा केही समयअघि फिफाले उनको एक खेलको प्रतिबन्धलाई १२ महिनाका लागि स्थगन गरिदियो, जसले गर्दा उनले बेल्जियमविरुद्ध खेल्न पाए। यस निर्णयको युरोपेली फुटबल महासंघ र बेल्जियमले कडा विरोध गरेका थिए।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फिफालाई बालोगनको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेको स्वीकार गरेका थिए। ट्रम्पका अनुसार त्यो रातो कार्ड दिने खालको गल्ती थिएन र प्रतिबन्ध लगाएको भए विश्वकपमा ‘ठूलो दाग’ लाग्ने थियो।
ट्रम्पको हस्तक्षेप र बालोगनले खेल्न पाए पनि बेल्जियमले आयोजक अमेरिकालाई ४-१ को फराकिलो अन्तरले पाखा लगायो। खेलपछि बेल्जियमका मिडफिल्डर निकोलस रास्किनले भने, ‘टोलीभित्र अन्याय भएको महसुस भइरहेको थियो, त्यसैले हामीले मैदानमै प्रदर्शनमार्फत जवाफ दिने निर्णय गर्यौँ।’
कप्तान युरी टिलेमान्सले पनि यो विवादले टोलीको मनोबल झन् बढाएको बताए।
बेल्जियमले चौथो गोल गरेपछि धेरै खेलाडीहरूले ट्रम्पको चर्चित 'डान्स' ( राष्ट्रपति चुनाव प्रचारका क्रममा ट्रम्पले गर्ने हाउभाउ) गरेर उनीमाथि व्यंग्य गरेका थिए।
यति मात्र होइन बेल्जियमको आधिकारिक इन्स्टाग्राम पेजले रोमेलु लुकाकुको तस्बिर राख्दै क्याप्सनमा लेख्यो— ‘ओभरटर्न दिस’ (अब यसलाई उल्टाएर देखाऊ)। यो ट्रम्पले निर्वाचनको नतिजा वा निर्णयहरू उल्टाउन प्रयोग गर्ने शब्दमाथि गरिएको सिधा प्रहार थियो।
हुन त सोमबार ट्रम्पले भनेका थिए, ‘यदि बेल्जियमले हामीलाई हरायो भने म २०२० को राष्ट्रपति चुनावमा भएको धाधली भयो जस्तै भन्छु।’
तर बेल्जियमले आफ्नो खेल मार्फत मात्र होइन सामाजिल सञ्जालबाटै ट्रम्पलाई कडा चुनौती दिएको छ।
बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले खेलपछि बालोगन आफैँ कुरा गर्न आएको र यसमा खेलाडीको कुनै गल्ती नभएको बताए।
अर्कोतर्फ इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेल र युइएफएले फिफाको यो कदमले गलत नजिर बसाएको भन्दै आलोचना गरेका छन्। विश्वकपको इतिहासमा सन् १९६२ पछि पहिलो पटक रातो कार्ड पाएका खेलाडीले यसरी प्रतिबन्धबाट उन्मुक्ति पाएको यो पहिलो घटना हो।
यस जितसँगै अमेरिका विश्वकपबाट बाहिरिएको छ भने बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ, जहाँ उसले अब स्पेनको सामना गर्नेछ।