सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जवानी सम्झेर कांग्रेस धुरूधुरू रोएको बताएका छन्।
केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै कांग्रेसले २१ बुँदा जारी गरेको सन्दर्भमा बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले आफ्ना पालामा गरेका काम हेर्न कांग्रेसलाई आग्रह गरे।
‘कांग्रेसले आरोप लगाउन पाएकै थिएन। २००७ सालयता राजनीतिक सत्ताको मियो कांग्रेस थियो,’ उनले भने, ‘जवानी सम्झेर धुरूधुरू रोएको छ। बहुमत र मिलिजुलीका सरकारका बेला कांग्रेसले के गर्यो? प्राप्त अवसरमा के गर्यो त्यो हेरेर आरोप लगाएको भए हुन्थ्यो।’
कांग्रेसले लगाएका २१ असफलका बुँदालाई उनले उपनिर्वाचनका लागि जाल हानेको पनि बताए।
‘उपनिर्वाचनमा जाल हान्न होला यस्ता आरोप लगाएको! आरोप लगाउन हामीलाई पनि आउँछ। २०४६ देखि २०७६ सम्मका हामी पनि २९ आरोप लगाउन सक्छौं,’ उनले भने।
कांग्रेसका आरोप सत्यको नजिक नभएको उनले बताए।
‘बाटो बनेकै छ। पुल बनेको छ। कहीँकहीँ खाल्डाखुल्डी छन् त के भो,’ उनले भने।
तथ्यहरूको आधारमा बोल्न पनि उनले कांग्रेसलाई आग्रह गरे।
कांग्रेसलाई जवाफ दिन मन्त्रीमण्डल पुनर्गठन नभएको उनले बताए।
‘ठूलो पार्टीमा सन्तुलन मिलाउनका लागि मन्त्रीमण्डल पुनर्गठन गरिएको हो। कांग्रेसलाई जवाफ दिन होइन,’ उनले भने, ‘कांग्रेसलाई जवाफ दिने विकास र सुशासनबाट दिने हो।’
सरकार अझै तीन वर्ष चल्ने बताउँदै उनले आगामी दिन जनताले फैसला गर्ने पनि बताए।