नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउने र आत्मालोचित भएर आउने उद्घोष गरेका छन्।
'मध्यरातपछि उज्यालो हुँदै गर्दा ब्युझिँदै गर्नुभएका आमाबुबालाई म भन्न चाहन्छु — कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउँदैछ, विगतका कमजोारीलाई आत्मालोचना गरेर आउँदैछ।'
उनले अगाडि भने, 'हाम्रो कारणले कहीँ कसैको मन दुखेको छ भने क्षमा माग्न आउँदैछ। विगतमा गरेका कर्मलाई सूत्रबद्ध गरेर आउँदैछ। भविष्यमा गर्ने कामको खाका लिएर आउँदैछ।'
पहिलो विशेष महाधिवेशनबाट सभापति चुनिएका बिपी कोइरालाले जसरी कांग्रेसलाई २०१५ सालको आमनिर्वाचनमा लिएर गए, दोस्रो विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस फेरि आमनिर्वाचनमा होमिन तयार भएको उनले बताए।
'त्यति बेला बिपीले जसरी १५ वर्षको देशको सपना देख्नुभएको थियो, हामी पनि आज २०८२ सालको यो मितिमा उभिएर आगामी १५ वर्षको देशको सपना देख्दैछौं,' विश्वप्रकाशले भने।
उनले सम्बोधन क्रममा नेपाली कांग्रेसको पहिलो र दोस्रो महाधिवेशनबीच रहेको एउटा रोचक संयोग पनि खुलाएका छन्।
उपसभापति निर्वाचित भएपछिको पहिलो सम्बोधन क्रममा विश्वप्रकाशले भने, 'कांग्रेसको इतिहासमा भएको दुईवटा विशेष महाधिवेशनबीच एउटा रोचक संयोग छ।'
उनले अगाडि भने, 'त्यति बेला र अहिलेका विशेष महाधिवेशनले निर्वाचित गरेका सभापति दुवै युवा छन्।'
'पहिलो विशेष महाधिवेशनले युवा उमेरका बिपी कोइरालालाई सभापति निर्वाचित गरेको थियो भने अहिले युवा उमेरका गगन थापालाई नयाँ सभापति चयन गरेको छ। नेपाली कांग्रेसमा अहिले साँचो अर्थमा पुस्तान्तरण भएको छ,' उनले भने।