नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेसको विशेष महाधिवेशन नेपालका कुनै राजनीतिक दलको इतिहासमा भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्।
'यो तल्लो तहको आह्वानमा भएको अधिवेशन हो,' उनले विशेष महाधिवेशन स्थलमा भने, 'तल्लो तहले माथिल्लो तहलाई आफ्नो आवाज सुनाउन यो अधिवेशन आह्वान गरेका हुन्। लोकतन्त्र सुशासन र पार्टीभित्रको सुधारका लागि यो अधिवेशन अर्थपूर्ण र उपलब्धिपूर्ण छ।'
कांग्रेस फुट्यो भन्नेहरूलाई जबाफ दिँदै थापाले भने, 'जुन महाधिवेशन प्रतिनिधिहरूले शेरबहादुर देउवालाई निर्वाचित गरेको थियो, त्यही साथीहरूले अहिले नयाँ कार्यसमिति चयन गरेको छ।'
अबका दिनमा कम समयमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै उनले माघ ६ गतेभित्र उम्मेदवारी दर्ता गरी फागुन २१ गते पार्टीलाई निर्वाचनमा लिएर जानुपर्ने उनले बताए।