भारतको असाममा नयाँ नागरिकता कानुन विरुद्धको विरोध प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको छ।
नयाँ नागरिकता कानुन विरुद्धको प्रदर्शनमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो। असामको सबैभन्दा ठूलो सहर गुवाहटीमा प्रदर्शनका क्रममा गोली लाग्दा तीन जनाको मृत्यु भएको हो। सरकारी अधिकारीहरुले पाँच दिनदेखि असामका केही भागमा इन्टरनेटमा प्रतिबन्ध र कर्फ्यु लगाएका छन्।
त्यसअघि एक जनाको पसलमा सुतिरहेको अवस्थामा आगलागीबाट र अर्का एकको कुटपिटका कारण मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै एफपीले जनाएको छ।
बुधबार भारतको संसदबाट नयाँ कानुन पारित भएसँगै असाममा हिंस्रक प्रदर्शन बढेको हो। संसदले तीन छिमेकी देशबाट सन् २०१४ डिसेम्बर ३१ अघि भारत पसेका मुस्लिम समुदायबाहेकका गैर–नागरिकलाई नागरिकता दिने विधेयक पास गरेको थियो।
आलोचकहरुले सो विधेयकलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी सरकारले धर्मनिरपेक्ष भारतीय संविधानको सिद्धान्तलाई उल्लङ्घन गरेको बताएका छन्।