भो नफुट
फुटेपछि जोडिँदैन सिसा
जोडिँदैनन्
फुटेपछि ग्रह-उपग्रहहरू
कहिल्यै सूर्यसँग!
मन फुटेपछि
मासु लुछ्दा आधा बाङ्गिएको
सिंहको दाह्राभन्दा
झन् खतरनाक हुन्छ!
गालेर रसाउन पनि
धातुलाई रसायन चाहिन्छ
माहुरी कै भएर पनि के गर्नु
काठको घार कहाँ रसाउँछ र
धातु जोड्ने रसायनले!
सिद्धान्तको
धरो समाएर
लाज ढाक्न छोडेको
धेरै भयो तिमीहरूले
निकम्मा पदको आँखीझ्याले पछ्यौरीले
ढाकेर लाज
कहाँ ढाकिन्छ र?
भो नफुट!
मक्किएका खुट्टा भएको कुर्सीमा बसी
जनताका आँसु माथि
पाइताला टेक्न पनि के फुट्नु?
मातृवात्सल्य
फुटेको भए पो
गौरव र आत्म सुखको विषय हुन्थ्यो
प्यास मेटाउन बचेराको
मूल फुटेको भए पो पानीको
ऐँठनबाट मुक्त हुन्थ्यो भविष्य!
बिना भूकम्प
बिना ज्वालामुखी
फुट्ने
धरालाई त इतिहासले चिन्दैन भने
ओ! महासयहरू
स्वार्थको रयनमा बग्न
भो नफुट!
भो नफुट!
फोहोर नै देखिए पनि
आँखाको पो महत्त्व हुन्छ
जति सेता देखिए पनि
अन्ततः
‘कचरा कचरा नै हुन्छ’।