राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुम्ला जिल्ला सभापति लरजित परियार र नेता गणेश पाण्डेसहित प्रतिनिधिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
शुक्रबार बेलुकीदेखि उनीहरू रातभरि चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेका हुन्।
शनिबार बिहान पनि धर्नामै रहेको हुम्ला सभापति परियारले सेतापाटीलाई जानकारी दिए।
उनीहरूले पार्टीले बनाएको समानुपाति सूचीमा कर्णालीको प्रतिनिधित्व नभएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउन धर्नामा बसेको बताएका छन्।
'टासी ल्हाजोमले फिर्ता लिनुभएको छैन। तर पार्टीले आफै झिकिदिएछ नाम। कर्णालीको प्रतिनिधित्व पनि भएन। त्यसकारण नेतृत्वको ध्यानाकर्षण गराउन हामी यहाँ रातभर जागराम बस्यौं,' परियारले भने।
बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको विषय सार्वजनिक भएको थियो। आदीवासी जनजाति क्लस्टरमा उनको नाम थियो।
टासी आफैले भने सूचीबाट नाम फिर्ता नलिएको बताएकी छन्।
साथै आफूमाथि आरोप लागेजसरी तिब्बतसँग कुनै संलग्नता भेटिए प्रमाण देखाउन चुनौती दिएकी थिइन्।
'फिर्ता हुने प्रक्रियामा सहभागी पनि भएको छैन। मैले बारम्बार भन्दै आएकी छु। म तिब्बती नागरिक होइन। म फ्रि तिब्बतको अभियानमा कुनै पनि तवरमा संलग्न भएकी छैन। मेरा प्रेमी तिब्बती होइनन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
यसअघि रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफल गरी नाम फिर्ता लिएको बताएका थिए।
‘उहाँले आफै नाम फिर्ता लिनुभएको हो। म तत्काल सांसद बन्दिनँ। समुदायका लागि काम गर्छु। आयोग, नियोगतिर काम गर्छु भन्नुभयो,’ प्रवक्ता झाले भने, ‘सल्लाह गरेरै नाम फिर्ता लिनुभएको हो।’
यसबारे हामीले टासी ल्हाजोमलाई पनि सोधेका थियौं।
उनले नेतृत्वले आफूसँग कुनै सल्लाह नगरेको बताइन्। यसबारे आफूलाई थाहा नभएको भन्दै उपसभापति डिपी अर्याललाई (डोलप्रसाद) लाई सोध्न आग्रह गरिन्।
‘मलाई समानुपातिक सूचीबाट हटाइएको हो भने यसबारे डिपी अर्यालसँग कुरा गर्नुहोस् न है। मलाई सोधिएको छैन। मसँग कुरा पनि भएको होइन,’ उनले सेतोपाटीसँग भनिन्।