हेलसिंकीको ठिहिराउने जाडोमा इराकका मोहम्मदको ट्याक्सी चढ्नु एउटा सामान्य यात्रा मात्र थिएन। त्यो त विस्थापन र भोगाइको एउटा गहिरो अध्याय खोतल्नु जस्तै थियो। फिनल्यान्डमा ११ वर्ष बिताइसकेका मोहम्मद १८ घण्टा पाङ्ग्रासँगै गुड्छन्, एक-एक पैसा जोड्छन्। उनको मिहिनेतले हातमुख जोर्न त सजिलो बनाउला तर उनकै शब्दमा भन्नुपर्दा— त्यो 'अब्बल' जीवन होइन, जहाँ मनले श्वास फेर्न पाओस्।
‘आफ्नै देशको मज्जा नै अर्को हुन्छ’ गन्तव्यमा पुर्याएपछि उनले सुस्केरा हाल्दै भने। उनको यो वाक्यमा एउटा सार्वभौम पीडा लुकेको छ। हाम्रै देशका युवाहरूलाई लाग्छ भविष्य त परदेशको माटोमा मात्र छ। तर सपनाको पछि लागेर समुद्र पार पुगेकाहरू फेरि त्यही माटो सम्झिएर टोलाउँछन्। जाने र फर्कनेहरूको यो अलमलमा कतै न कतै खुसीको एउटा ठुलो हिस्सा हराइरहेको भान हुन्छ।
दुई भूगोल, दुई अनुभूति
नेपालको जाडो र फिनल्यान्डको जाडोमा एउटा आधारभूत भिन्नता छ, त्यो हो 'घाम'। हाम्रोमा जाडो आउँदा घाम एउटा न्यानो उपहार बनेर आँगनमा ओर्लिन्छ। घाम ताप्नु यहाँ विलास होइन, दैनिकी हो। घाम लाग्दा शरीर मात्र होइन, मन पनि खुल्छ। तर फिनल्यान्डमा जाडो एउटा संघर्ष हो। बिहान उठ्ने बित्तिकै हिउँ पन्छाउनु, गाडीका टायरमा नचिप्लने फलाम हाल्नु र चिप्लो सडकमा पाइला नाप्नु त्यहाँको जीवनको अभिन्न अंग हो। जीवन यान्त्रिक बलमा टिकेको छ।
हामी नेपालीहरू सधैँ ठुला कुरामा गौरव गर्छौँ। सगरमाथा, बुद्ध र वीरताका गाथाहरूमा हाम्रो परिचय खोज्छौँ। तर वास्तविकतामा मानिसले खोज्ने सबभन्दा ठुलो कुरा त केवल 'घाम' जस्तै सामान्य रहेछ। हामी अतिशयोक्तिमा रमाउँछौँ तर जीवनका साना र सूक्ष्म सुखहरूलाई चिन्नै बिर्सन्छौँ।
खुसीको सूचकांक र भित्री रित्तोपन
तथ्याङ्कहरू भन्छन् फिनल्यान्ड खुसी सूचकांकको शीर्ष स्थानमा छ। त्यहाँको सामाजिक सुरक्षा, राज्यको हेरचाह र प्रणाली लोभलाग्दो छ। तर अनुसन्धानहरूले अर्को पाटो पनि देखाउँछन्। लामो जाडो र घामको अभावले मानिसहरूलाई भित्रभित्रै थकित र मानसिक रूपमा भारी बनाइरहेको छ।
यता नेपालमा पूर्वाधार कमजोर छन्, सडकमा धुलो छ र कहिलेकाहीँ आधारभूत सेवाकै अभाव हुन्छ। तर यहाँ खुसी भेट्न ठुला उपलब्धि चाहिन्न। लामो लाइनपछि पेट्रोल पाउँदाको राहत होस् वा चिसो बिहानको एक कप तातो चिया हाम्रो खुसी संवेदनासँग जोडिएको छ, सुविधासँग मात्र होइन।
हाम्रो पर्यटन पनि अब यही सादगीतर्फ फर्किनुपर्छ। विदेशीहरू अब अग्ला हिमाल मात्र होइन, नेपालीको आत्मीय मुस्कान र जीवनशैलीको 'कनेक्सन' खोज्न आउँछन्।
दिगो जीवनको पुरानो जग
फिनएयरको उडानमा जब मैले बाँसको चम्चा देखेँ, मलाई आफ्नै गाउँघरको याद आयो। आज संसारले जसलाई 'सस्टेनेबल' वा दिगो विकास भन्दै ठुलो आविष्कार मानिरहेको छ, त्यो त हाम्रो पुर्खाले युगौँदेखि बाँचिरहेको जीवनशैली थियो। हामीले प्रयोग गर्ने बाँस, काठ र माटोका सामग्रीहरू आधुनिकताको नाममा पन्छाएका थियौँ तर आज संसार घुमिफिरी त्यहीँ आइपुगेको छ। हामीले बाँचिरहेको जीवनशैली नै वास्तवमा दिगो थियो, अब यसलाई हीनताबोधका साथ होइन, गौरवका साथ उजागर गर्ने बेला आएको छ।
मोहम्मदको त्यो अधुरो सपना र फिनल्यान्डको हिउँले एउटै पाठ सिकाउँछ। समृद्धि भनेको बैंक ब्यालेन्स मात्र होइन, मनको शान्ति पनि हो। नेपाललाई अब 'महान्' र 'सर्वोच्च' जस्ता भारी शब्दले होइन, आत्मीयता र सरलताले चिनाउनु पर्छ।
हिउँको चिसोभन्दा घामको न्यानो प्यारो हुन्छ। आउनुस्, अतिशयोक्तिलाई छोडेर आफ्नै माटोको सुगन्ध र यहाँको सरल खुसीलाई महसुस गरौँ। किनकि संसारले अहिले खोजिरहेको 'पिस अफ माइन्ड' कतै न कतै हाम्रै आँगनको घाममा लुकेको छ।