काठमाडौँ उपत्यकाको वातावरणमा केही प्रदूषणले धमिलिएको भए पनि हुस्सु र तुवाँलोले गर्दा छेवैको मानिसलाई ठम्याउन पनि हम्मे-हम्मे परेको अवस्था देखिन्छ। केही दिन अघिदेखि सूर्यलाई ग्रहण लागे जस्तो न राप, न ताप भएर दिन चिसिएकोमा उत्तर तिरको सिरेटो र स्याँठले खपी नसक्नुको भएको छ। देशै भरिको करिब यही अवस्थाले रुघाखोकी मात्र होइन, निमोनिया, दम जस्ता श्वास-प्रश्वास र जाडोको कारणले बढ्ने प्रेसर, मुटुरोग र बाथका रोगीहरू अस्पतालमा भर्ना हुने क्रम पनि त्यतिकै बढेको समाचार सुनिन्छ।
खराब मौसमका कारण विमानस्थलहरू अवरुद्ध छन्। मुस्किलले मेरो जिल्लाको छिमेकी बिरामी काठमाडौँ विमानस्थल हुँदै देशकै ठुलो अस्पताल महाराजगन्जमा आइपुगेको खबरले उहाँको सरसहयोगका लागि बिरामी भेट्न जाने क्रममा अस्पताल पुगियो। अस्पतालको अगाडि टिकट लिनेको दुई छुट्टाछुट्टै लाइन देखियो। अझ उता स्वास्थ्य बिमा शाखामा भने बिरामीको लामै लाइन बाटोसम्म घुमेको देखेर कता-कता मुखबाट फुत्किइहाल्यो– 'ओहो कति साह्रो भिड हो? स्वास्थ्य बिमामा। यो सरकारी कार्यक्रम त असाध्यै सफल भएछ।'
छेवैका लामबद्ध एकजना बिरामीले मतर्फ कड्के नजर फर्काएर आफ्नो पीडा कूटनैतिक व्यङ्ग्यमा पोखे – 'हो हजुर, असाध्यै सफल भा’छ, जनताले दुख पा'छ। ऊ, उता हेर्नुस् त, अहिलेका अहिल्यै फटाफट टिकट लिएर डाक्टरकोमा पुगिसके। हामी बिमावाला भने बिहान ५ बजेदेखि टिकट लिएर १० बजेसम्म सिकबुक लिन लाइनमै छौँ। अझ के भनौँ, आफू त भाग्यमानी नै परेछु। धेरैले त टिकट नपाई घर फर्किए।'
उसको कुरा सुनेर मलाई बिमाको कार्यक्रममा बढी सहभागिता भएको हो कि भन्ठानेर मैले भनेँ– 'सामान्य पेइङमा भन्दा बढी बिरामी पो रहेछन् त बिमामा।'
उसले लाइनको वास्ता नै नगरी मतिर लक्षित गर्दै भन्यो– 'हो, यहाँले ठिक भन्नुभयो। यहाँको डाक्टरलाई देखाउन हामी बिमावालाले पहिले प्रथम सेवा बिन्दुको डाक्टर समेतलाई देखाएर सिफारिस लिएर यहाँ अस्पताल आउनुपर्छ। यस अर्थमा हामी डाक्टरको प्राथमिकतामा नै पर्यौँ नि हैन सर? अन्य बिरामी दुई घण्टामा उपचार सकेर जान्छन्, त्यही उपचार हामी बिमावालालाई तीन दिन लाग्छ। दुई घण्टाको भन्दा तीन दिनको उपचार राम्रो होला नि? हैन र हजुर?'
उसको एकोहोरो भनाइ सुनेर म अक्क न बक्क परेँ। हो भनौँ या होइन? बेकारमा दोहोरो सवाल जवाफ गरिएछ जस्तो लाग्यो र टाउको हल्लाएर समर्थन जनाउन ठिक होला भन्ठानी त्यसै गरेँ। तर मनमा भने अनेकानेक तर्क वितर्कहरू भइरहे।
मैले सुनेको थिएँ– 'बिमाको कार्ड बनाउन चाहिँ गाह्रो छ, लाइन लागेर करिब दुई दिनसम्म लाग्छ। यसको सफ्टवेयर नै ढिला चल्छ। इन्ट्री गर्दा नेट घुमिरहन्छ रे! जे भए पनि जनताले यो सेवा आफ्नै वडामा पाएका छन्। जाँच गर्न प्रथम सेवा बिन्दुको डाक्टरकहाँ देखाई उसको सिफारिस साथ तोकेको अस्पतालमा जानुपर्छ र उपचार पाइन्छ। बिरामीको भिडभाड भएकोले अहिले आएर अस्पतालले टिकट काट्दा सामान्य टिकटलाई बढी संख्यामा र बिमा टिकटलाई कोटा तोकेर करिब १५ प्रतिशत मात्र टिकट बाँड्ने गरेकोले बिमाको चाप बढेको छ रे।'
यस्तै तर्कनामा आफू मौन सोचमग्न थिए। उसले मलाई पाउदेखि शिरसम्म सरसरती हेर्यो। मैले केही प्रतिक्रिया नजनाईकन त्यही बसिरहेँ। सायद मेरो सोझोपन देखेर होला। म चुपचाप उसको खप्की सहेर बस्यो भन्ठानेर हो कि? किन हो? ऊ आक्रोशित मुद्रामा देखा पर्यो र भन्यो–
‘बिमा कार्यक्रम चाहिँ ल्याउने, अस्पताललाई समयमै रकम शोधभर्ना नदिने अनि अस्पतालले बिरामी घटाउनलाई टिकटको कोटा लगाउने। आएका बिरामीलाई झन्झट दियो भने थोरै बिरामी मात्र उपचारमा आउँछन् अनि खर्च घट्छ र सजिलो हुन्छ भनेर सकभर अलमल्याउने। औषधी दिने ठाउँमा सर्भर चलेन भनेर झुलाइरहने। दिनभर बसेर औषधी नपाएपछि औषधी किन्नलाई बाध्य पार्ने। खै त बिमाको सुविधा? उल्टै खर्च गराउने? यो कार्यक्रम र अस्पतालले हामीलाई चेपुवामा पो पार्यो। सरकारी कार्यक्रम हो, सफल पार्नुपर्छ, राम्रै हुन्छ होला भनेर मागे जति पैसा तिरियो र कार्ड बनाइयो। अब त पैसा फिर्ता माग्नु पर्ने अवस्थामा परियो। अब हामीले के गर्ने भन्नुस् त?’
उसको यो देउसी, भैलो भट्ट्याए जस्तो एकोहोरो आक्रोश म सुनेको सुनै हुन विवश छु। सायद मेरो अन्यौलता र विवशपन देखेर होला, ऊ एक क्षण खै के सोचेर हो, शान्त भयो र भन्न लाग्यो-
‘बाबा! मैले त कान समातेँ, अझ रोगैपिच्छे ३/३ महिनामा सिफारिस लिन जानु पर्ने? म त सक्दिनँ, कुन दिनमा बिमा गरेछु भन्ने भा’छ। बरु मैले बिमाको पैसा माया मारेँ सर, मलाई साधारण पेइङ टिकट नै मिलाई दिनुस्, तपाईंलाई धर्म नै हुन्छ भन्दै नमस्कार गर्न पो थाल्यो। यो सुविधा दिएको हो कि झन्झट? मैले त कुरै बुझिन, भन्दिनुस् त सर तपाईँले?’
उसले त म नै बिमाकर्ता, सरकार वा अस्पतालको कर्मचारी हो भनेझैँ गरेर र्याखर्याख्ती पो पार्यो। म अनधिकृत मान्छे, बिरामी भेट्न त्यहाँ आएको थिएँ। मैले के जवाफ दिनु? जिल्ल परेँ। त्यत्रो मानिसको वरिपरि उसको ३/४ दिनदेखिको रिस पोखाइ र हप्काइले म त लज्जित भएँ।
ठिक उसैले भने झैँ आफूलाई पनि ‘कुन दिनमा’ यो ठाउँमा आएर मतलब नै नभएको कुरा बोल्दा बेइज्जती भोग्नु पर्यो भन्ने पछुतो भयो र ‘सरी हजुर! मैले नजाने गाउँको बाटो सोध्न पुगेछु, माफ गर्नुस्’ भन्दै मेरो छिमेकी बिरामीलाई भेट्न उहाँ बेड भर्ना भएतर्फ गएँ।