तिमी बगिरहेकी नदी हौ
तिमीले बग्दै गर्दा भेटिएका
स्वार्थका ढुंगाहरूसँग सम्बन्ध गाँस्नु हुँदैन
तिमीलाई अँगाल्न आउने
भ्रमका पहाडसँग साइनो जोड्नु हुँदैन
आफ्नो वास्तविकताभन्दा पर पुर्याउने
अपेक्षाका बगरसँग आत्मीयता बढाउनु हुँदैन
तिमीलाई त सागर पुग्नु छ
र पुग्नु छ सागर हुँदै आकाश
त्यसैले तिमी बगिरहनु, सुस्तरी आफ्नै बाटो
निरन्तर, बिना कुनै रोकावट
लामो यात्रामा हिँड्नेले
कहिल्यै हतार गर्नु हुँदैन
आफ्नो गन्तव्य देखेकाहरूले हतार गर्दैन
हतार त उसलाई हुन्छ जसलाई कहीँ पुग्नु हुँदैन
तिमी नदी हौ खहरे बन्ने कोसिस नगर्नु
शुभकामना!