नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरणको बहसलाई दोस्रो विशेष महाधिवेशनले निष्कर्षमा पुर्याएको छ।
लामो समयसम्म पुरानो पुस्ताको दबदबा रहेको कांग्रेसमा एकै पटक पुस्तान्तरणको यति ठूलो भूकम्प आएको छ, त्यसले एकै पटक धेरै पुस्ता भत्काएको छ। र, कांग्रेसको नेतृत्व एकैचोटि २०४६–४७ सालको जनआन्दोलनपछिको विद्यार्थी राजनीतिबाट उदाएको पुस्तामा हस्तान्तरण भएको छ।
एक कोण बाट हेर्दा, यो कुन ठूलो कुरा भयो र भन्ने पनि लाग्छ। र, हो पनि।
किनभने, विद्यार्थी र कांग्रेसको राजनीतिमा लगातार ३०–३२ वर्ष काम गरेको पुस्ता अहिले नेतृत्वमा पुगेको छ जो आफै ५० वर्ष आसपासको छ।
तर कांग्रेसमा पुस्तान्तरणको विषय उसको इतिहासको लामो 'आर्क' को पृष्ठभूमिमा हेरिनुपर्छ।
एकछिनका लागि, अहिले कांग्रेसको शीर्ष तहमा रहेका नेताहरूलाई हेरौं।
७९ वर्षीय शेरबहादुर देउवा हिजोका दिनसम्म पनि कांग्रेसका सभापति थिए। उनका समकालीन कांग्रेसका पूर्व उपसभापति ८१ वर्षीय रामचन्द्र पौडेल अहिले मुलुकको राष्ट्रपति छन्।
देउवा र पौडेलसँगै नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहेका अर्जुन नरसिंह केसी अहिले पनि राजनीतिमा सक्रिय छन्। विघटित संसदमा उनी नुवाकोटबाट निर्वाचित सांसद हुन्। कांग्रेसमा अस्तिसम्म सभापतिको एक जना प्रबल दाबेदार शेखर कोइराला ७५ वर्षका छन्।
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा भने जम्मा ४९ वर्षका छन्। निवर्तमान सभापति देउवासँग उनको उमेरमा जुन ३० वर्षको फासला छ, यी ३० वर्षमा कांग्रेसले धेरै नेता जन्माएको छ। ती नेताहरू अहिले पनि पार्टीको सक्रिय राजीतिमा छन्। र, उनीहरूमध्ये धेरै कांग्रेस नेतृत्वको दाबेदार हुन्।
आफू अगाडिको 'राजनीतिक जाम' नखुलेर त्यसै अड्किएका उनीहरूलाई सधैं लाग्यो — कांग्रेसमा गगन थापाको पुस्ताको पालो अझै आएको छैन।
त्यस्तो सोच्नेमा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेविसंघमा २०३६ सालमै देउवाका उत्तराधिकारी बनेका विमलेन्द्र निधिदेखि नेविसंघका अरू सभापतिहरू बलबहादुर केसी, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरूङ र नेविसंघका पूर्वनेताहरू मीनेन्द्र रिजाल, प्रकाशशरण महत, चन्द्र भण्डारी मात्र छैनन्।
नेविसंघको केन्द्रीय राजनीतिभन्दा बाहिरबाट आएका कृष्ण प्रसाद सिटौला, कोइराला परिवारका दुई डाक्टर शेखर र शशांक कोइरालादेखि केन्द्र र जिल्ला तहका ६०–७० वर्ष उमेर समूहका थुप्रै नेता छन् — जसलाई लाग्थ्यो गगनको पुस्ताको पालो आएकै छैन।
उल्लिखित कुनै पनि व्यक्तिलाई गगन थापा कांग्रेसको सभापति हुन लायक छ वा कुनै दिन बन्नेछ भन्नेमा सायदै कुनै शंका थियो।
तर उनी र उनको पुस्ताले पर्खिनुपर्छ, अहिले नै नेतृत्व दावी गर्ने होइन भन्ने उनीहरूको मत थियो।
त्यसको 'सबटेक्स्ट' ले भनिरहेको थियो — हाम्रै पालो आइपुगेको छैन। त्यसैले तिमीहरू पर्ख। धैर्य गर।
देउवाले पनि सभापतिका रूपमा अन्तिम पटक आफ्नै निवासमा बुधबार बिहान गगनलाई भट्नेबित्तिकै भनेका थिए — भाइ कांग्रेसको सभापति हुने मान्छे, अहिले नै किन यस्तो गरेको!
कांग्रेसको १२औं महाधिवेशनमै आफ्ना ससुरा तथा देउवाका दौंतरी अर्जनु नरसिंह केसीसँग महामन्त्रीमा प्रतिस्पर्धा गरेर गगनले 'म पर्खिने छैन' भन्ने स्पष्ट सन्देश दिएका थिए। त्यही १२औं महाधिवेशनपछि यो बीचको पुस्ता गगनभन्दा अघि नै आफू नेतृत्वमा पुग्न वा उनलाई रोक्न झनै व्यग्र बन्न थालेको हो।
किनभने, उनीहरूलाई थाहा थियो — गगन रोकिनेवाला छैनन्!
त्यसै कारण विमलेन्द्र निधिले देउवालाई १३औं महाधिवेशनमा प्रस्ट भने — तपाईंलाई मैले जीवनभर सघाएँ। तपाईंले यसपालि मलाई सघाउनुपर्छ। अर्को महाधिवेशन मलाई 'सुट' गर्दैन, किनभने त्यहाँ गगन–विश्वप्रकाशहरू आइपुग्छन्।
देउवा मानेनन्। उनी आफै उठे र जिते। निधि पनि उठे र हारे।
निधिले भनेको ठ्याक्कै पुग्यो।
गगन र विश्वलाई यसपालि उनले मात्र होइन, देउवा सहितको सिंगो केन्द्रीय कार्यसमितिले पनि रोक्न सकेन।
यो पुस्ताले देउवा र आफूहरूबीच २५–३० वर्षसम्म हुर्किएको पुस्ताका कैयन मानिसलाई एकै पटक हुत्याइदियो। र, नेतृत्व आफ्नो हातमा लियो।
गगन थापा २०६२–६३ सालको जनआन्दोलनका 'पोस्टर ब्वाई' हुन्। तत्कालीन पार्टी नेतृत्व गणतन्त्रका पक्षमा नउभिँदै सडकमा गणतन्त्रको नारा उरालेका कारण नेविसंघको सभापतिबाट गुरूराज घिमिरे र महामन्त्री गगन थापा बर्खासीमा परेका थिए।
गिरिजाप्रसाद कोइराला सभापति र सुशील कोइराला महामन्त्री भएको त्यस बेला नेविसंघ नेतृत्वबाट गलहत्याइएका उनै नेताहरूलाई विशेष महाधिवेशनले सभापति र महामन्त्री चुनेको छ।
गणतन्त्र आएको १८ वर्षमा उनीहरूले कांग्रेस नेतृत्वको बागडोर सम्हालेका छन्।
२०५९ सालमा नेविसंघको अध्यक्षमा घिमिरे र महामन्त्रीमा थापा चुनिनुअघि २०५७ सालमा नेविसंघ अध्यक्ष बनेका विश्वप्रकाश शर्मा उपसभापति बनेका छन्। विश्वप्रकाशको नेतृत्वमा रहेको समितिमा गगन र गुरू दुवै थिए।
२०४६ सालको राजनीतिक परिवर्तनसँगै राजनीतिमा आकर्षित भएका, विद्यार्थी आन्दोलनबाट हुर्किएका र सडक संघर्षमा खारिएका बहुसंख्यक नेताहरूलाई कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीमा चुनेको छ।
'यो पुस्ता न त दरबारसँग संवाद गर्दै हुर्किएको हो, न त निर्वासनको पीडाबाट राजनीति सुरू गरेको हो,' राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईंले भने, 'यो पुस्ता विश्वविद्यालयका कक्षाकोठादेखि सडकसम्म संघर्ष गरेर, गिरफ्तारी, निषेधाज्ञा र सडक आन्दोलनको अनुभव बोकेर आएको हो।'
प्रसाईंका अनुसार गगन–विश्वप्रकाश सहित अहिले कांग्रेसको पदाधिकारीमा चुनिएका सबैजसो नेता २०६२–६३ को जनआन्दोलनलाई प्रतिनिधित्व गर्ने पुस्ता हो।
'यो पुस्ताले कांग्रेसभित्रको घराना केन्द्रित राजनीतिक अभ्यासमा धावा बोलेको छ,' उनले भने, 'सभापति थापाले कांग्रेसमा अब परिवारवाद छैन भनेर प्रारम्भमै त्यसतर्फ महत्त्वपूर्ण संकेत गरेका छन्।'
उनले थपे, '२०६२–६३ को जनआन्दोलनले लोकतन्त्रलाई फराकिलो तुल्याउने र रूपान्तरणतिर अग्रसर हुने सपना देखेको थियो। तर त्यसपछिको ड्राइभिङ सिटमा पुरानै खेलाडी आसीन भए। जनआन्दोलनको भावना बोक्ने पुस्ता किनारामै रह्यो। यसर्थ, अहिले दलको सत्ता त्यही आन्दोलनको नेतृत्वकर्ता पुस्तामा आएको छ।'
विशेष महाधिवेशनले छानेका १३ सदस्यीय पदाधिकारीमा उपसभापति पुष्पा भूसाल ६४ वर्ष र सहमहामन्त्री फरमुल्लाह मन्सुर ७० वर्ष हाराहारी उमेरका हुन्। उनीहरू बाहेक सबैजसो पदाधिकारी ५०–६० वर्ष हाराहारीका छन्।
सभापति थापा निकट नेता शंकर तिवारी अहिलेको नेतृत्वलाई आन्दोलनको उपजका रूपमा हेर्छन्।
'२०६२/६३ को आन्दोलनमा सडकमा ओर्लिएर नेतृत्व गरेका मान्छेहरू अहिले कांग्रेसको नेतृत्वमा पुगेका छन्। ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरूद्ध सडकमा भिडेका सडकका जोधाहाहरू अब पार्टी कमान्ड सम्हाल्दै छन्। यसलाई कांग्रेसको स्वाभाविक पुस्तान्तरणकै रूपमा बुझ्नुपर्छ,' उनले भने।
२०३३ सालमा जन्मिएका गगन थापा अहिलेको नेतृत्व टोलीको केन्द्रमा छन्। उनको राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरू भएको थियो।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौंको सडकमा देखिने प्रमुख विद्यार्थी नेतामध्ये थापा अग्रस्थानमा थिए। गिरफ्तारी, प्रतिबन्ध र धम्कीका बाबजुद उनले आन्दोलन हाँकेका थिए।
यही संघर्षले उनलाई 'सडकको नेता' बनायो। २०६४ सालमा पहिलो पटक संविधानसभा सदस्य बनेका उनी त्यसपछि लगातार प्रतिनिधिसभा सदस्य, स्वास्थ्य मन्त्री र कांग्रेस महामन्त्री हुँदै अहिले सभापति बनेका छन्।
२०२७ सालमा जन्मिएका विश्वप्रकाश शर्मा २०५९ सालमा नेविसंघ केन्द्रीय अध्यक्ष थिए।
राजाको शासनविरूद्ध आन्दोलनमा विश्वप्रकाश संगठन विस्तार, प्रचार र वैचारिक मोर्चामा सक्रिय थिए। उनी मिडिया र जनसम्पर्कमा कांग्रेसको धारणा स्थापित गर्ने भूमिकामा पनि सफल मानिन्छन्।
हाल उपसभापतिको भूमिकामा उक्लिएका उनकै प्रस्तावमा गगन थापा सभापति बनेका छन्।
उपसभापति पुष्पा भुसाल उमेरका हिसाबले अहिलेको पदाधिकारी टोलीकी पाको भन्न मिल्ने नेता हुन्। ६४ वर्षीया भुसाल २०४६ सालपछिका नेता हुन्। देउवा समूहमा रहेकी उनी यस पटक विशेष महाधिवेशनको पक्षमा उभिएकी थिइन्। पूर्वउपसभामुख उनी संसदीय अभ्यासकी अनुभवी नेता मानिन्छन्।
महामन्त्री बनेका प्रदीप पौडेल र गुरूराज घिमिरे पनि २०६२–६३ सालको जनआन्दोलनबाटै सार्वजनिक पहिचान बनाएका नेताहरू हुन्।
पौडेल २०६४ सालमा नेविसंघ अध्यक्ष बनेका थिए। आन्दोलनपछि छिन्नभिन्न भएको विद्यार्थी संगठनलाई एकताबद्ध गर्न उनको भूमिका महत्त्वपूर्ण मानिन्छ।
त्यस्तै सहमहामन्त्री टिममा युवा पुस्ताको स्पष्ट बहुमत छ। फरमुल्लाह मन्सुर बाहेक अधिकांश सहमहामन्त्री २०२५–२०३५ सालबीच जन्मिएकाहरू र २०४६ पछिको परिवेशमा राजनीतिमा आएकाहरू छन्।
मुक्ता कुमारी यादव धनुषाबाट उदाएकी नेता हुन्। कांग्रेसको १४औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी उनी प्रतिनिधिसभा सदस्य पनि बनिसकेकी छन्।
मोरङकी डा. डिला संग्रौला पनि चालीसको दशकबाट नेपाल विद्यार्थी संघमा संगठित भएकी नेता हुन्।
प्रकाश रसाइली 'स्नेही' बझाङका नेता हुन्। दलित आन्दोलन र नेविसंघ पृष्ठभूमिबाट आएका उनी सामाजिक न्यायको मुद्दा बोकेर लगातार लड्दै आएका नेता हुन्।
बहादुरसिंह लामा नुवाकोटका नेता हुन्। बागमती प्रदेश राजनीतिमा प्रभाव जमाएका उनी संगठन विस्तारमा अनुभवी मानिन्छन्।
उदयशमशेर राणा ललितपुरबाट उदाएका नेता हुन्। तरूण दलको नेतृत्व गर्दै उनी राष्ट्रिय राजनीतिमा आएका हुन्।
योगेन्द्र चौधरी दाङका नेता हुन्। कुनै बेला रामचन्द्र पौडेल निकट मानिने उनी यस पटक सहमहामन्त्री बनेका छन्।
अर्का सहमहामन्त्री कर्ण बुढा डोल्पाका नेता हुन्। भौगोलिक रूपमा पछाडि परेको क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेस पदाधिकारी तहमा पुगेका छन्।
कांग्रेस इतिहासबारे अध्ययन र लेखन गर्दै आएका युवा नेता तिवारी कांग्रेसको संगठनात्मक विकासलाई तीन चरणमा बुझ्न सकिने बताउँछन्।
'पहिलो चरण २००८ देखि २०१४ सालसम्मको हो, जब बिपी कोइरालाले देशव्यापी संगठन निर्माण गरे,' उनले भने, 'दोस्रो चरण २०३३ देखि २०३९ सालसम्म, जब राष्ट्रिय मेलमिलापपछि संगठन पुनर्निर्माण भयो।
अहिलेको चरण तेस्रो चरण हो — तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई २०५८ सालमा बर्खास्त गरेदेखि जनआन्दोलनले २०६३ सालमा ज्ञानेन्द्रलाई फालेसम्मको समय।
२०४६ सालपछि विद्यार्थी राजनीतिबाट उदाएको पुस्ताले यही समय कालमा गणतन्त्रको संघर्ष मार्फत आफ्नो प्रखरता र जुझारूपन स्थापित गर्यो।
विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पुस्ता यही तेस्रो चरणको आन्दोलनले खारेको पुस्ता हो। गणतन्त्र मान्ने र त्यसलाई अगाडि बढाउने पुस्ता हो।
अब लोकतन्त्र, गणतन्त्र सुधार्ने र परिस्कृत गर्ने जिम्मेवारी यही पुस्ताको काँधमा आएको छ।
यी पनि पढ्नुहोस्: