त्रिचन्द्र बहुमुखी क्याम्पसले पुरानै शुल्कमा विद्यार्थी भर्ना लिने भएको छ।
स्नातक तहमा मानविकी र विज्ञान संकायमा नयाँ शुल्क तोके पनि विद्यार्थीले विरोध गरेपछि पुरानै शुल्कमा आइतबारदेखि भर्ना खुलाइएको क्याम्पसले जनाएको छ।
पाठ्यक्रम परिवर्तन गरिएको भन्दै क्याम्पसले स्नातक तह पहिलो वर्षमा गत मंसिर ९ गते शुल्क वृद्धि गरेको सूचना निकालेको थियो। शुल्क वृद्धिको विरोधमा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि अनेरास्ववियुका विद्यार्थीले आक्रमण पनि गरेका थिए।
क्याम्पस प्रमुख न्यौपानेले आइतबार विज्ञप्ति निकालेर पुरानै शुल्कमा विद्यार्थी भर्ना खुलाइएको उल्लेख गरेका छन्।
‘विज्ञान तथा मानविकी संकायको स्नातक पहिलो वर्षमा नयाँ वार्षिक भर्ना शुल्क निर्धारणका लागि क्याम्पस प्रशासनद्वारा शुल्क निर्धारण समिति गठन गरी सो समितिले सबै पक्षसँग छलफल गरेर शुल्क निर्धारण गर्नेछ,’ क्याम्पस प्रमुख न्यौपानेले भनेका छन्। विद्यार्थी संघसंगठनको मागलाई ध्यानमा राखेर हाललाई भने पुरानै शुल्कमा भर्ना लिने क्याम्पसले जनाएको छ।