२०६४ सालको संविधानसभा चुनावताका सहरबाट गाउँ गएँ।
एक जुगमा एक पटक त भोट हाल्नुपर्छ भन्ने लाग्यो। तर घरबाट मतदान केन्द्रसम्म जानै धौ भयो।
बाटामा अनेकन अवरोध रहेछन्। बल्लतल्ल मतदान केन्द्रमा पुगेँ। भोट भने हाल्न पाइएन। अरूले नै हालिसकेछन्। नमिठो लाग्दै फर्किएँ। दोलखाका धेरै मतदान केन्द्रमा यस्तै हुन्छ। कहिले कांग्रेस, कहिले एमाले र कहिले माओवादीले गर्थे। यो पटक पनि फेरि त्यसै भयो। २०४८ पछि दोलखामा स्वच्छ र निष्पक्ष चुनाव कल्पना मात्र भयो। चुनाव धन र डनवालाकै भयो! धिक्कार छ मेरो देशको लोकतन्त्रलाई।
२०७२ को भूकम्पपछि आमाबा सहर आउनुभयो। सहरबाट गाउँ फर्किनु भएन। त्यसपछि लामो समय गाउँ गइनँ म। नगए पनि गाउँको माया मनभरि थियो। छ। माया मारेको छैन। जन्मे–हुर्केको गाउँमा सपनामा समेत पुगिन्छ। त्यतै खेलिन्छ। आमाबा हुँदा वर्षको एक–दुई पटक आउजाउ हुन्थ्यो। त्यो बाध्यता नहुँदा गाउँ आउजाउ पातलियो अहिले।
सामाजिक सञ्जाल र सञ्चारको तीव्र विकास हुँदा पनि गाउँको हालखबर बताउने मान्छे भएनन्। पूरै निर्जन छ गाउँ। बाटो छ गाउँमा, हिँड्ने मान्छे छैनन्। स्कुल छ गाउँमा, पढ्ने विद्यार्थी छैनन्। पानीका धारा छन्, प्यासी छैनन्। कस्तो विडम्बना! सहर–बजारको भीडभाडलाई एकै पटक सम्झेँ मैले। के भएको क्या सरकार यो?
त्यही निर्जन गाउँमा कालेकी आमालाई भेटेँ, यो पटक गाउँ जाँदा मैले। सानो हुँदा हँसिया, कोदाला–कोदाली अर्जाप्न र बनाउन गइन्थ्यो उनका घर। १२ वर्षपछि गाउँ जाँदा संयोगले भेटेँ उनलाई। धुस्रे–फुस्रे र हिँड्न नसक्ने दुब्लो अनुहारमा थिइन्। आफ्नै कपाल फुलेर सेतै भइसकेछ। काकी त झन् बुढी भइछन्! मनमनै सोचेँ।
काकी भनेर सम्बोधन गरेँ उनलाई। बोलीबाटै चिनिन् उनले मलाई। हाम्रो परिवारको बारेमा धेरै कुरा सोधीखोजी गरिन्।
'मान्छेहरू गाउँबाट मानिस सहर पलायन भएपछि गरिखाने पेसा नै सङ्कटमा पर्यो। वर्ष–वर्षमा ‘बाली’ आउँथ्यो, त्यो पनि हरायो। मान्छे भए पो आरन चलोस्। ‘आरन’ बास बस्यो। जीवन चलाउन झन् धौ भयो। एक छाक खानै मुस्किल पर्यो बाबू'।
अरूसँगै गाउँ छोडेर हिँड्न सकेनन् कालेका बा। गाउँबस्ती झन्–झन् पातलिँदै गयो। हरेक वर्ष मान्छे झन् झन् घट्दै गए। गाउँ पात्लिँदा हाम्रो परिवारलाई भने थप तनाव भयो। आफ्नो जमिन नभए पनि अरूको बाँझिएको जमिन खाली थियो। तर खेती गर्ने जन भएन। काम गरे पनि बाँदर, दुम्सी र मृगले खान दिँदैनथे। बिचल्ली भो।
दैवको लीला, सानी छोरी पाँच वर्षकी हुँदा झाडापखाला लागेर बिती। एकै सासमा काकीले विगतदेखि वर्तमानसम्मका घटना सुनाइन् मलाई।
जसोतसो दुःख–जिलो गरेर बाँच्दै थियौँ। कालेका बा अचानक बिरामी परे। काम गर्न सकेनन्। थलिए। थलिएपछि बाँच्न मन भएन कि क्या हो! आफ्नै घरभित्र नाम्लोको पासो लगाएर सास फ्याँकेछन्। यो पनि सहेँ ! भनिरहँदा काकीलाई हेरिरहेँ मैले।
खै किन किन मान्छे झुन्डेको घरमा बस्न असहज लाग्यो। मनको भूतले सधैँ तर्सायो। घर भत्काएर कटेरोमा बस्यौँ आमाछोरा।
प्रश्न बिना नै निरन्तर काकी कुरा सुन्दै गएँ म। छोराले कामको लाइन लिएन। भौंतारियो। १५/१६ वर्ष भएपछि गाउँ छोडेर हिँड्यो ऊ। गाडीमा खलासी बसेको भन्थ्यो। कहिलेकाहीँ घरमा आउँथ्यो। फेरि अर्को बज्रपात पर्यो। बस पल्टेर छोरो यो संसारबाट बिदा भयो। त्रिशूलीमा बस खस्दा हरायो ऊ। लास पनि भेटिएन! भन्नू त बाबु, म के गरौँ? नितान्त एक्लो छु अहिले!
कोही छैनन् अब। काल आएन लिन। सबैलाई लान्छ, मलाई लगेन। घुकघुक गर्दै रोइन्। कुरा सुनेर आँसु थामिएनन्। काकीसँगै रोएँ म पनि। काकीको घाउमा मलम लगाउन भने सकिनँ। मन भत्भती पोल्यो। नभेटेको भए पनि हुन्थ्यो! सहन नसकेर बेचैनी भयो मन। भोग्नेलाई कस्तो होला? कल्पना गरेँ मैले।
हातखुट्टा राम्ररी चल्दैनन्। आँखा धमिलो देख्छु। मिनेटभरमा बाहुनगाउँ पुग्ने यो ज्यानलाई अहिले घण्टौँ लाग्छ। गएर पनि के गर्नु …? कोही छैनन् बाहुन गाउँमा पनि। जम्मा ४/५ जना बुढाबुढी छन्। मरेको पनि कसैलाई थाहा नहुने भो। लास स्यालले खाने भो …। तिमीहरू सबै सहर गैहाल्यौ। काकीको कुराले चसक्क मन घोच्यो मलाई।
लौरोको सहारामा बाहुन गाउँतिर बल्लतल्ल जान्छु। दिएको खान्छु। नभए यही कटेरोमा आएर सुत्छु। तर दयालु छन्। दिन्छन्। त्यसैले मेरो सास अडिएको छ। गोरेकी आमा र म बाहेक कोही छैन यहाँ पनि अब!
पहिला पनि राम्ररी खान पाइएन। बरू अहिले सरकारले भत्ता दिन्छ तर लिन जान सक्दिनँ। पैसा भएर पनि के गर्नु? खानु भएन। हिँडडुल गर्न सक्दिनँ। ल्याइदिने मान्छेसम्म छैन। मान्छे नगई सरकारले भत्ता दिँदैन। घिस्रेर जान्छु। घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई। काकीको कुराले शासन व्यवस्था प्रति टिठ लाग्यो मलाई।
'पूरै थला परेँ भने कसले हेर्ला? कसले प्यास मेटाइदेला मलाई'? उत्तर दिन सकिनँ। सरकारको सामाजिक दायित्वबारे घोत्लिएँ। कुरा सुनेर फेरि तुरूक्क आँसु झरे मेरा।
'भगवान् हुन्छन् भन्थे। खै, मेरा लागि भगवान् छैनन्। भगवान पनि मान्छेसँगै बसाइँ गएकी क्या हो बाबु? नत्र मेरो पीडा सुन्नुपर्ने। खै, सुनेनन्। आफ्ना जति सबै खोसेर लगे। मलाई राख्ने ठाउँ भएन क्यारे। लगेनन्। भगवान निष्ठुरी रहेछन्। अ साँच्चै कि भगवान् छैनन् ?' सोधिन् काकीले मलाई। के भन्नु र कसो भन्नु भयो। एक हिसाबले भ्रमित भएँ म। बोलिनँ।
'काकी, म जान्छु' भनेँ उनलाई।' हस् बाबु, राम्ररी जानू। आमालाई सोधेको छ भन्नू है। देख्न र भेट्न त सक्दिनँ होला यो जुनीमा। आमा ज्यादै जाति हुनुहुन्थ्यो। गाउँ हुँदा आड भरोसा थियो। मीठो–मसिनु बाँड्नु हुन्थ्यो। सबै टाढा भए अब।'
काकीको कुरा सुनेर म अवाक भएँ।
'दुःखीको घरमा मात्र तेरो बास हुने भए अझै दुःख दे भगवान्' भनेँ मैले!
काकीको दुःख योभन्दा बढी देख्न र सुन्न सक्दिनँ अब। कालेकी आमा, यानी कि काकीका कुरा सुनेर भगवानलाई धिक्कारेँ मैले। ती काकीलाई किन यतिसम्म दुःख दिएको? कहिलेसम्म सहन सक्छिन् उनले? प्रश्नहरू आइरहे मनमा!
फर्किँदा पनि उनै काकीलाई सम्झिएँ।
भगवान भनेको कि भ्रम हो? नत्र दुःखीलाई मात्र किन दु:ख? फेरि आफैले आफैलाई उत्तर दिएँ। भगवान काल्पनिक भरोसा बाहेक अरू होइन रहेछन्। वास्तविक भगवान त मानिस र असल राज्य व्यवस्था रहेछ। अरू सबै भ्रम! मलाई त्यस्तो लाग्यो।