बर्दियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक ठाकुर बाबा नगरपालिका–५ का २१ वर्षीय सुशिलकुमार थारू र पछाडि सवार सोही वडाका २५ वर्षीय करण थारूको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते दुवै जनालाई जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्याइएको थियो। राति १० बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्लाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ जाँदै गरेको बा प्र ०१–०३२ च ७५५३ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसी देवेन्द्रकुमार मल्लका अनुसार गाडीका चालक मधुवन –४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो दुर्घटनापछि प्रहरीको रोहबरमा मृतकका आफन्त र सवारी धनीसहित समितिका पदाधिकारीका बीचमा छलफल जारी छ।
प्रहरी स्रोतका अनुसार गाडीका चालकले मदिरा सेवन गरी गाडी हाँकेको पाइएको छ।
मृतक दुबै जनाको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।