नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने बैठकमा सहभागी नहुने भएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज राखेको बैठकमा सहभागी नेता कोइरालासहित उनीनिकट केन्द्रीय सदस्यहरूले अबदेखि आफूहरू यस्तो छलफलमा सहभागी नहुने कुरा जानकारी गराएका हुन्।
विघटित केन्द्रीय समिति बैठकमा सहभागी हुनुअघि नेता कोइरालाले सम्पर्क कार्यालय विशालनगरमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कोइरालानिकट नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्ने र चुनावमा पनि भाग लिनुपर्ने निष्कर्ष निकालेका थिए।
यही निष्कर्ष नेता कोइरालाले सानेपामा बसेको विघटित केन्द्रीय समिति बैठकमा प्रष्टसँग राखेका हुन्।
‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्था छ, यो सडक आन्दोलनतिर नलगौं,’ कोइरालाले बैठकमा भनेका कुरा उद्धृत गर्दै निवर्तमान केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सेतोपाटीसँग भने, ‘निर्वाचन आयोगले तपाईंहरू अदालत जान सक्नुहुन्छ भनेकोले अदालत जान सकियो। तर आन्दोलनतिर नलागौं, चुनावतिर लागौं भनेर उहाँले भन्नुभएको छ।’
नेता कोइरालाले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सफल पार्नुपर्ने कुरा सानेपा बैठकमा राखेका थिए।
‘नेता कोइरालाले आन्दोलनमा जान हुन्न भन्ने कुरा राखेपछि अदालतमा जाने भन्ने निर्णय मात्रै भयो,’ उनले भने।
विघटित केन्द्रीय समिति बैठकमा सहभागी भएर कुरा राखे पनि नेता कोइरालासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यले निर्णय/उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्।
‘हामी केन्द्रीय सदस्य छैनौं भनेर बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर पनि गरेनौं, ’ उनले भने।
उनकाअनुसार कोइरालानिकट धेरै विघटित केन्द्रीय सदस्यहरू अबदेखि देउवा समूहले राख्ने छलफलमा सहभागी हुने छैनन्।
‘हामी अब यस्ता खालका छलफलमा सहभागी हुँदैनौं भनेका छौं, यस्ता छलफलमा सहभागी नहुने पक्षमा धेरै साथीहरू हुनुहुन्छ,’ उनले भने, ‘हामी निवर्तमान भइसकेकोले केन्द्रीय समिति बैठक राख्न हुन्न र जान हुन्न भन्ने हो।’
कोइरालानिकट कतिपय नेता भने अदालतले निर्णय नगर्दासम्म यस्ता छलफलमा सहभागी हुनुपर्ने पक्षमा छन्।
‘कानुनी पाटो अदालतलाई छाडेर निर्वाचनमा जाऔं भन्नेमा हामी छौं,’ उनले भने, ‘यसमा पनि धेरै विचार छन्। कतिपय साथीहरू अदालतले निर्णय नदिँदासम्म छलफल गरौं भन्नेमा हुनुहुन्छ।’
निवर्तमान सभापति देउवा पक्षका नेताहरू भने निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी र राजनीतिक लडाइँ लड्नुपर्ने पक्षमा छन्।
चुनाव लड्न छाडेर सडक आन्दोलनमा जानुपर्ने भनाइ पनि कतिपयको छ।
तर नेता कोइरालाले चुनाव लड्ने वा नलड्ने भन्ने कुरा व्यक्तिलाई स्वतन्त्र रूपमा छाड्नुपर्नेमा छन्।
‘निर्वाचनमा जाने वा नजाने व्यक्तिगत इच्छा र चाहनाको कुरा हो भन्ने भयो, कतिपय साथीहरू चुनावमै नजाऊँ भन्ने पनि छ,’ उनले भने, ‘कतिले भने अदालतले भनेपछि यस्तो निर्णय लिनुपर्छ भन्नेमा हुनुहुन्छ।’
यो पनि:
चुनावमा टिकटका आकांक्षी देउवा पक्षका नेताहरू गर्न थाले सभापति थापालाई फोन