पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ। इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु-कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको थियो।
सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल देखिएको छ भने चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ।
‘यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ।
बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर२६ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानमा साथै पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
मंसिर२७ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थान साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
मंसिर२८ गते (शनिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
राति: देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना छ।
पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।