यसपटक चितवन–३ को निर्वाचन दुई हिसाबले रोचक छ —
पहिलो, यो क्षेत्रमा दुई राजनीतिक दलका चर्चित महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयर बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की ४९ वर्षीया रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटकमै काठमाडौं–२ को प्रत्यक्ष चुनाव जितेकी २९ वर्षीया सोविता गौतमबीच मुख्य प्रतिस्पर्धा हुने धेरैको आकलन छ।
दोस्रो, २०७२ सालमा संविधान जारी भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले पहिलो पटक कसैसँग तालमेल नगरी आ–आफ्ना पार्टीका उम्मेदवार पाएका छन्।
२०७४ मा एमाले–माओवादी गठबन्धन थियो भने कांग्रेसले राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा) का विक्रम पाण्डेलाई समर्थन गरेको थियो। २०७९ मा कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन थियो।
यसपालि कांग्रेसले टेकप्रसाद गुरूङलाई चुनावी मैदानमा उतारेको छ भने एमालेले शंकर थपलियालाई अघि सारेको छ।
त्यस्तै, तीन वर्षअघिको संसदीय चुनाव जितेका राप्रपा नेता विक्रम पाण्डे यसपालि प्रतिस्पर्धाबाट बाहिरिएपछि दीपक थापा मगरको इन्ट्री भएको छ।
यो संसदीय निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका ६, ८, ९ र १३ देखि २८ वडा गरी १९ वटा वडा र माडी नगरपालिकाका सबै वडा पर्छन्। यो क्षेत्र आधाभन्दा बढी भाग भरतपुर महानगर र आधा माडी नगरपालिका मिलेर बनेको छ।
१ लाख ५५ हजार ३०९ मतदाता रहेको यो क्षेत्रमा यसअघिको चुनावको हिसाब कस्तो छ भन्नेमा धेरैको चासो हुने नै भयो।
तीन वर्षअघि (२०७९) को संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकमा पार्टीहरूले ल्याएको मत कस्तो छ भनेर हेर्दा एउटा रोचक पक्ष देखिन्छ।
यहाँ ३५ हजार मत ल्याएर राप्रपाका विक्रम पाण्डेले प्रत्यक्ष निर्वाचन जितेका थिए भए पनि समानुपातिकमा राप्रपाले आधाभन्दा कम अर्थात् १६ हजार ७ सय मत ल्याएको थियो।
प्रत्यक्षमा पाण्डेसँग पराजित तत्कालीन माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८ सय मत ल्याएका थिए भने माओवादीले समानुपातिकमा १६ हजार मत पाएको थियो।
कांग्रेस र एमालेको समानुपातिक मत पनि अघिल्लो निर्वाचनको तुलनामा आधाभन्दा बढी घटेको थियो।
२०७४ को चुनावमा समानुपातिकमा २६ हजारभन्दा बढी मत पाएको नेपाली कांग्रेसले २०७९ को चुनावमा साढे १० हजार मत ल्याएको थियो। एमालेले पनि २०७४ मा २४ हजार १५५ मत ल्याएको थियो भने २०७९ मा साढे १४ हजार मत पायो।
चुनावको चार महिनाअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षेत्रमा राम्ररी चुनाव प्रचार पनि गरेको थिएन। त्यति हुँदाहुँदै रास्वपाकी उम्मेदवार जिता बरालले झन्डै १५ हजार मत पाएकी थिइन्।
चितवनभरि नै समानुपातिक भोट पाउने पहिलो पार्टी पनि रास्वपा नै थियो। चितवन–३ मा पनि रास्वपाले २८ हजार ४०१ मत पाएर पहिलो बनेको थियो।
संसदीय निर्वाचनअघि स्थानीय चुनावमा पनि गठबन्धन नै भएको थियो। कांग्रेस र एकीकृत समाजवादीको मत जोडेर भरतपुर महानगरमा माओवादीकी रेणु विजयी भएकी थिइन्। माडी नगरपालिका भने एमालेकी तारा कुमारी महतोले जितेकी थिइन्।
स्थानीय चुनावमा यो क्षेत्रमा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका २८ जना वडाध्यक्ष उम्मेदवारले ४५ हजार १७२ भोट पाएका थिए। नेकपा एमालेका वडाध्यक्षहरूले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले ७ हजार ४५४ भोट ल्याएका थिए।
भरतपुर महानगरबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाबाट ८ हजार २५३ भोट ल्याएका थिए। त्यसको ६ महिनापछि नेपाली कांग्रेसले सिंगो क्षेत्रबाट समानुपातिकमा १० हजार पायो।
यही मतका आधारमा यसपालि चुनावमा के हुन्छ भन्ने विश्लेषण गरौं।
अघिल्लो चुनावमा बागी उम्मेदवार उठ्दा पनि आफूले पाएको १० हजार मतलाई कांग्रेसका नेता–कार्यकर्ता 'यताउता नजाने मत' भनेर व्याख्या गर्छन्। कसैसँग गठबन्धन नगरेको र बागी उम्मेदवार पनि नउठेकाले कांग्रेसका परम्परागत मतदाताको भोट फर्किने कांग्रेस नेताहरूको विश्लेषण छ।
त्यस्तै, अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मतका आधारमा एमाले पनि १४ हजार भोट कतै नजाने बताउँछ। संविधान निर्माणपछि एमाले मतदाताले पनि गठबन्धनका कारण कहिले माओवादी त कहिले कांग्रेसलाई भोट हाल्न बाध्य भएका थिए। अहिले उनीहरूले आफ्नै उम्मेदवार पाएका छन्। यसले माहोल धेरै राम्रो भएको एमाले नेताहरूको भनाइ छ।
कांग्रेस र एमालेले आफ्नो मत जोगाए माओवादीकी दाहाल र रास्वपाकी गौतम दुवै दबाबमा पर्छन्।
माओवादीले २०७४ सालमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई उठाउँदा पनि समानुपातिकमा पाएको मत २२ हजार थियो। यसअघिको चुनावमा यो संख्या घटेर १६ हजारमा झर्यो।
एमालेसँग मिल्दा जितेको यो ठाउँमा असुरक्षित देखेरै यसअघि प्रचण्ड गोरखा गएको अनुमान धेरैको छ। नभन्दै चितवनमा चर्चित डाक्टर भोजराज अधिकारीलाई उठाउँदा, कांग्रेस र एकीकृत समाजवादीसँग मिल्दा पनि माओवादी हार्यो।
त्यसैले यसपालि रेणुले जित्न यसअघिका चुनावमा माओवादीले पाएको मत जोगाएर मात्र हुँदैन, थप्नु पनि पर्छ।
आफूले महानगरमा गरेका काम देखाएर उनले चुनाव जित्न सक्छिन् कि सक्दिनन् भन्ने प्रश्न छँदै छ। तीन नम्बर क्षेत्रमा पर्ने सबैतिर पक्की सडक पुर्याएको, ६ लेनको सडक बनाएको लगायत महानगरको विकासमा काम गरेको भनेर यो क्षेत्रमा उनको तारिफ गर्नेहरू धेरै छन्।
अघिल्लो पटक चुनाव प्रचारै नगर्दा पनि पहिलो पार्टी बनेको रास्वपाले यसपालि काठमाडौंबाट गएकी गौतमलाई अघि सारेको छ।
संसदमा राम्रो प्रदर्शन गरेकी र पार्टीमा पनि चर्चा कमाएकी गौतमको हकमा सबभन्दा सबल पक्ष के भने, महानगर चुनावमा रेणुको प्रचार–प्रसारमा खटिएका व्यक्ति उनका श्रीमान् हुन्। उनलाई यो क्षेत्रको स्थलगत अनुभव छ।
चितवनलाई रास्वपाको सजिलो मैदान भनेर धेरैले भन्ने गर्छन्। त्यसमाथि युवा उम्मेदवार उठाए चुनाव जित्न सकिन्छ भन्ने आकलन गरेरै गौतमलाई चितवन पठाइएको हुन सक्छ। कांग्रेस–एमालेको मत तानेर नयाँ मतदातालाई आफ्नो प्रभावमा राख्न सक्नुपर्ने चुनौती भने उनलाई छ।