हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
बुधबार बिहान पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ।
महाशाखाको वेबसाइटमा उल्लेखित विवरणअनुसार पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंमा चाहिँ अहिलेसम्म वर्षा भएको छैन।
मौसमविद् विनोद पोखरेलले मंगलबारसम्म पश्चिम नेपालमा हल्का वर्षा भइरहेको र वर्षा गराउने प्रणाली बुधबार गोरखासम्म आइपुगेको बताएका छन्।
यसले बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।
बिहीबारदेखि भन केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने उनले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।