माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान कायम गरेको छ।
आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्न सफल भएको हो।
सो कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो।
फेसन शोमा आठ नेपाली, एक फिनल्यान्डकी, पाँच इटालीकी, एक श्रीलंकाकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको मुख्य उद्धेश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु रहेको पर्यटन बोर्डले जनाएको छ।
कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेका थिए।
पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ नन्दिनी लाहे थापा, विश्वाम्बर घिमिरे, गिनिज वर्ल्ड रेकर्डका अधिकारी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए।
यस शोमा सबै प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री देखाइएको थियो।
सहभागीहरु जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने बताइएको छ।
हेर्नुस् तस्बिर: