नायक तथा मोडल पल शाह र गायक दुर्गेश थापा चामलको भारी बोक्दै बागलुङ हिँडेका छन्। बागलुङ ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा भदौ १७ गते पहिरोमा परी विस्थापित परिवारलाई सहयोग गर्न आफूहरू बागलुङ हिँडेको उनीहरू सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
पाँच दिनअघि दुवैले आ-आफ्ना फेसबुक मार्फत् सहयोगका लागि अपिल समेत गरेका थिए। जम्मा भएको सहयोग संकलन गरी पल र दुर्गेश चामलको भारी बोक्दै मंगलबार बिहान बागलुङ हिँडेको दुवैले फेसबुक मार्फत जानकारी गराएका छन्।
'बागलुङका बाढीपहिरो पीडितका लागि सिरक, डसना, नुन, तेल चामल सबै लोड भयो है,' आबुखैरेनी पुगेको जानकारी दिँदै पलले मंगलबार दिउँसो फेसबुकमा लेखेका छन्, 'अनि आज बिहानको खाना आबुखैरेनीको झरनाको तल।'
योसँगै उनले झरनामुनि बसेर कागजको प्लेटमा खाना खाइरहेको, चामल बोकिरहेको केही तस्बिर राखेका छन्।
पहिरो पीडितको घाउमा मल्हम लगाउन आफूहरूले सानो कदम चालेको बताउँदै दुर्गेशले पनि यात्रा अघि बढाएको फेसबुकमा लेखेका छन्।
'पहिरो पीडितको सहयोगका लागि हामी हिँडिसकेका छौं,' मंगलबार साँझ पाँच बजेतिर उनले फेसबुकमा लेखेका छन्, 'उहाँहरूको पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौं। यति बेला हामी यात्रा अघि बढाउँदै छौं।'
गत १७ गते राती बागलुङ भुजिखोलामा आएको पहिरोले २५ घर बगाएको थियो। ४१ जना बेपत्ता भएका थिए।
नायक तथा मोडल पल शाह पछिल्लो समय सामाजिक काममा सक्रिय देखिएका छन्। केही समयअघि पनि कालिकोट पहिरोमा परेकालाई सहयोग गर्न उनी घटनास्थलमा राहत लिएर पुगेका थिए।
सबै तस्बिर सौजन्यः दुर्गेश थापाको फेसबुक