पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक किताब 'न्यायपालिकामा चार दशक : मेरा सम्झना' आज आइतबारदेखि बजारमा उपलब्ध हुने भएको छ।
न्यायपालिकामा चार दशक बिताएका रायमाझी डेढ वर्षभन्दा लामो समय सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए। 'मेरा अनुभव खुला रुपमा मैले पुस्तकमा राखिसकेको छु। अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन सबै स्वतन्त्र हुनुहुन्छ,' लेखक रायमाझीको भनाइ छ, 'न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले पढिदिए मलाई विशेष खुसी हुनेछ।'
किताबमा न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम समेटिएका छन्। न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरुले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन्।
प्रकाशक साङ्ग्रिला बुक्सका मणि शर्मा भन्छन्, 'यो पुस्तक नेपालको न्यायिक इतिहासका भित्री पाटाहरुलाई चियाउने एउटा आँखीझ्याल हो।'
यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ। राजनीति र न्यायबीचको संघर्षका विविध आयाम छन्। न्यायालयभित्र र बाहिरका पात्र तथा प्रवृत्ति चिन्न यसले सघाउँछ। न्यायको रक्षाका खातिर एक कर्मठ न्यायकर्मीले गर्नुपर्ने साहस र त्यागका दृष्टान्त छन्।
संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसलालगायत नेपालको राजनीतिका महत्त्वपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको पनि अभिन्न अंग बन्नेछ।
१४ भागमा विभाजित यस पुस्तक ४ सय १६ पृष्ठको छ र यसको मूल्य ६६६ रुपैयाँ छ।