प्रदर्शन तयारीमा रहेको फिल्म 'हामी तीन भाइ' को ट्रेलर सार्वजनिक भएको छ।
मधुसूदन भट्टराई निर्देशित फिल्मको ट्रेलरमा गाउँमा बस्ने तीन दाजुभाइको कथा देखाइएको छ। सुरूमा निकै मिल्ने दाजुभाइहरू विवाहपछि परिवारभित्र विभिन्न कारणले मनमुटावमा पर्ने संकेत ट्रेलरमा देखिन्छ। विशेषगरी विवाहपछि आउने सम्बन्धको तनाव र अंश (सम्पत्ति) माग्ने विषयले दाजुभाइबीचको सम्बन्धमा दरार आउने कथालाई ट्रेलरले संकेत गरेको छ।
ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, झगडा र भावनात्मक द्वन्द्वका दृश्यहरू समेटिएका छन्, जसले फिल्म पारिवारिक तथा सामाजिक कथामा आधारित रहेको देखाउँछ। फिल्ममा दाजुभाइको भूमिकामा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई छन्।
उनीहरूको साथमा फिल्ममा लक्ष्मी बर्देवा, जाहन्वी बस्नेत, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता विक्रम तामाङ हुन् भने सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। शिव ढकालको छायांकन रहेको फिल्म बनिश शाहले सम्पादन गरेका छन्।
'हामी तीन भाइ' यही चैत १३ गतेदेखि प्रदर्शन तयारीमा छ।