निर्देशक दीपेन्द्र के खनालले 'परस्त्री' निर्माण गर्ने घोषणा गरेका छन्। दीपेन्द्रको लेखन रहने फिल्म सुरज पाण्डेले निर्देशन गर्ने छन्। दीपेन्द्रले निर्देशन गरेको 'लभ लभ लभ' का अभिनेता पाण्डे यही सिनेमाबाट निर्देशक बन्दै छन्।
डिएस डिजिटलको ब्यानरमा निर्माण हुने सिनेमामा शर्मिला पाण्डेको लगानी रहनेछ। परस्त्री नेपाली र हिन्दी भाषामा समेत निर्माण गरिने जानकारी गराइएको छ।
गायक तथा अभिनेता कोशिस क्षत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइरहेको छ।
निर्माण समूहका अनुसार सिनेमाका लागि आवश्यक अन्य कलाकार अडिसनमार्फत् छनोट गरिने छन्। २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसनमार्फत् छानिने छन्।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म फागुन तेस्रो साताबाट छायांकन हुने तयारी छ। सिनेमाको सम्पूर्ण छायांकन काठमाडौंमा गरिनेछ।
फिल्म निर्माण घोषणाको औपचारिक कार्यक्रममा निर्देशनमा डेब्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनय भन्दा पनि निर्देशन रहेको बताए। फिल्म क्षेत्र प्रवेश गरेदेखि नै आफू निर्देशकका रुपमा आउने चाहना भएकाले अध्ययन र अनुसन्धान गरेर परस्त्री निर्देशन गर्ने हिम्मत जुटाएको बताए।
लेखक तथा निर्माता दीपेन्द्रले परस्त्रीको कथा नेपाली परिवेशमा तयार पारिने बताए। आजसम्म आफूले निर्देशन गरेका कुनै पनि सिनेमा विदेशीबाट प्रभावित नरहेकाले यो पनि बिल्कुलै नयाँ र दर्शकको विश्वासमा खरो उत्रने अपेक्षा गरे।
आफ्नो कथालाई निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएकाले उनलाई निर्देशनको जिम्मेवारी सुम्पेको उनको भनाइ छ। सुरजलाई निर्देशनमा आफूले कुनै पनि किसिमको हस्तक्षेप नगर्ने दाबीसमेत गरे।
यस्तै निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको 'चिसो मान्छे' प्रदर्शनको तयारीमा छ । महामारीले असर नगरेको खण्डमा चिसो मान्छे आगामी वर्षको बैसाख ३० गतेबाट प्रदर्शनमा आउने छ।