भारतीय गायक सोनू निगममाथि कन्नड समुदायको भावनामा ठेस पुर्याएको भन्दै उजुरी दर्ता गरिएको छ।
उनीविरूद्ध बेंगलुरूको अवलाहल्ली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनले एक कन्सर्टको क्रममा कन्नड समुदायको भावनामा ठेस पुर्याएका थिए। उनले बेंगलुरूको एक कलेजमा प्रस्तुति दिइरहेका थिए। जहाँ उनी आफ्ना हिन्दी गीत गाइरहेका थिए। तर फ्यानले कन्नड गीतको माग गरेपछि उनले गीत गाउनै छाडेका थिए।
यस मामिलामा उजुरी दर्ता भएपछि उनले इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै प्रतिक्रिया दिएका छन्।
'मायाले कुरा गर्नु र धम्काउनुमा फरक हुन्छ। उनीहरू चार पाँच जना गुन्डा टाइपका मान्छे थिए। जो कराइरहेका थिए। मलाई याद छ केटीहरू पनि उनीहरूसँग कराइरहेका थिए। यस्तो नगर्नू भनेर उनीहरूलाई रोकिरहेका थिए। कन्नडका मान्छेहरू निकै प्यारो हुन्छन्। त्यहाँ जे भइरहेको थियो, त्यसलाई गलत तरिकाले लिइयो,' उनले भनेका छन्।