बलिउड अभिनेता एजाज खानविरूद्ध बलात्कारको उजुरी दर्ता भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीविरूद्ध ४ मेमा बलात्कारको उजुरी दर्ता भएको हो। उजुरी दर्ता भएपछि उनी फरार भएका छन्। यतिबेला चारकोप पुलिस उनलाई खोजिरहेका छन्।
चारकोपका पुलिस एजाजको घरमा पुगेका थिए। तर उनी घरमा थिएनन्। जब उनलाई फोन गरियो। त्यतिबेला नम्बर बन्द थियो।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार ३० वर्षकी महिलाले चारकोप पुलिस स्टेशनमा उजुरी दर्ता गरेकी हुन्। उनले एजाजले 'हाउस अरेस्ट' शो होस्ट गर्ने अफर दिएको बताएकी छन्। छायांकनको क्रममा एजाजले उनलाई विवाहको लागि प्रस्ताव गरे। पछि आफ्नो घरमा लगेर जबरजस्ती शारीरिक सम्बन्ध राखे।
एजाजले उनलाई विवाहको आश्वासन दिएका थिए। एजाजविरूद्ध भारतीय न्याय संहिताको धारा ६३, ६४ (२ एम), ६९ र ७४ जस्ता उजुरी दर्ता गरिएको छ।
त्यस्तै २९ अप्रिलमा उनको शो 'हाउस अरेस्ट' को एक क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो। जसमा उनी महिला प्रतिस्पर्धीलाई लुगा फुकाल्न भन्छन्। त्यसपछि महिला आयोग र राजनीतिक पार्टीले यस शोलाई बन्द गर्न माग गरेका थिए।