भारतीय अभिनेता परेश रावलले 'हेरा फेरी ३' छाडेका छन्।
पछिल्लो १९ वर्षदेखि दर्शक 'हेरा फेरी ३' को पर्खाइमा छन्। तर परेशले फिल्म छाडेका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार परेशले फिल्म छाडेपछि निर्माण कम्पनी केप अफ गुड फिल्म्सले २५ करोड भारूको मुद्दा हालेका छन्। केप अफ गुड फिल्म्सका मालिक अक्षय कुमार हुन्।
हालै परेशले फिल्म छाड्नुको कारण खुलाएका छन्।
'यो फिल्म मैले नै छाडेको हुँ। म सधैं भन्छु कि कुनै कुराको लागि हुँदैन भन्नु हुँदैन। भविष्यमा के हुन्छ, केही अनुमान लगाउन सकिदैन। प्रियदर्शन मेरो लागि निकै प्रिय छन्। निर्देशकको रूपमा उनलाई निकै सम्मान गर्छु। हामीले पहिला पनि एकसाथ राम्रा फिल्ममा काम गरेका छौं। उनीसँग मेरो कुनै मतभेद भएको छैन। मेरो लागि पैसाभन्दा दर्शकको माया र सम्मान ठूलो हो। तर मलाई यो भूमिका अझै गर्न मन छैन,' उनले भनेका छन्।
बलिउडका चर्चित सिक्वेल मध्ये एक हो फिल्म 'हेरा फेरी'। 'हेरा फेरी' को पहिलो भाग सन् २००० मा प्रदर्शन भएको थियो भने सन् २००६ मा यसको दोस्रो भाग 'फिर हेरा फेरी' प्रदर्शन भयो।
दुवै संस्करणमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीलाई दर्शकले निकै मन पराएका थिए।