भारतीय अभिनेता रणवीर कपूरविरूद्ध एफआइआर दर्ता गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगले मुम्बई प्रहरीलाई आदेश दिएको छ।
आर्यन खानको वेब सिरिज 'द ब्याड्स अफ बलिउड' मा ई-सिगरेट प्रयोग गरिएको दृश्यलाई लिएर यस्तो आदेश दिइएको हो।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, यो आदेश रणवीर कपूर, सिरिजका निर्माताहरू र नेटफ्लिक्सविरुद्ध दिइएको छ। यसले इलेक्ट्रोनिक सिगरेट निषेध ऐन, २०१९ को उल्लङ्घन भएको आरोप लगाइएको छ। उक्त विषयमा विनय जोशी नामक व्यक्तिले मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका थिए। उनको भनाइअनुसार सिरिजको सातौँ एपिसोडमा रणवीर कपूरले ई–सिगरेट प्रयोग गरेको देखाइएको छ, तर त्यस क्रममा कुनै स्वास्थ्य चेतावनी वा डिस्क्लेमर दिइएको छैन।
उजुरीपछि मानवअधिकार आयोगले सूचना तथा प्रसारण मन्त्रालयलाई पनि नोटिस पठाएको छ। आयोगले मन्त्रालयलाई यस्ता सामग्री रोक्नका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। आयोगले यस्ता दृश्यहरूले युवा दर्शकहरूमा नकारात्मक असर पार्न सक्ने पनि बताएको छ।
यसबाहेक, मुम्बईका प्रहरी आयुक्तलाई पनि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको छ, जसमा ई–सिगरेट बनाउने र आयात गर्ने व्यक्तिहरूको भूमिकाको जाँच गर्न भनिएको छ।
आर्यन खानको निर्देशनमा बनेको पहिलो सिरिज 'द ब्याड्स अफ बलिउड' रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो। र, यो नेटफ्लिक्समा रिलिज भएको छ।