बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको अन्तिम फिल्म 'इक्किस' को प्रदर्शन मिति सरेको छ।
यसअघि क्रिसमसको अवसर पारेर डिसेम्बर २५ मा रिलिज गर्ने तयारी रहेको फिल्मलाई नयाँ वर्षमा सारिएको हो।
बुधबार 'इक्किस' निर्माता म्याडडक फिल्मले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। अब फिल्म जनवरी १ देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ।
यसका निर्माताले हाल बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म 'धुरन्धर' को प्रभावलाई ध्यानमा राख्दै फिल्म रिलिज सारेका हुन्। 'धुरन्धर' ले आक्रामक व्यापार गरिरहेको अवस्थामा ‘इक्किस’ प्रदर्शनमा ल्याउँदा असर पर्न सक्ने ठहर गर्दै निर्माताले रिलिज मिति परिवर्तन गरेका हुन्।
'इक्किस' मार्फत अभिनेता धर्मेन्द्र अन्तिमपटक पर्दामा देखिँदैछन्। उनको ८९ वर्षको उमेरमा गत महिना निधन भएको थियो।
'इक्किस' को प्रदर्शन मिति सरेसँगै अर्को ठूलो फिल्म 'तू मेरी मैं तेरा, मैं तेरा तू मेरी' सँगको भिड्न्त पनि टरेको छ। नयाँ मितिले फिल्मलाई एकल प्रदर्शनको अवसर मिल्ने र दर्शकको ध्यान केन्द्रित हुने निर्माणपक्षको अपेक्षा छ।
श्रीराम राघवन निर्देशित 'इक्किस' भारतीय सेनाका वीर जवान क्याप्टेन अरूण खेतरपालको जीवन र साहसमा आधारित छ।
फिल्ममा जयदीप अहलावत, अगस्त्य नन्द, धर्मेन्द्र लगायतको अभिनय छ। धर्मेन्द्र अभिनीत कालजयी फिल्म 'शोलेः द फाइनल कट' यतिबेला भारतसहित नेपालमा समेत प्रदर्शनमा छ।