बलिउड अभिनेत्री तथा चर्चित नृत्यांगना नोरा फतेही मुम्बईमा कार दुर्घटनामा परेकी छन्।
उनको स्वास्थ्य अवस्था स्थिर र खतरा बाहिर छ। दुर्घटनामा उनलाई साना चोटपटक लागेको छ। त्यस्तै, दुर्घटनापछि उनलाई हल्का मस्तिष्क आघात भएको बताइएको छ।
शनिबार दिउँसो भएको कार दुर्घटनापछि नोराले बेलुका मुम्बईमा डीजे डेभिड गुएटासँग स्टेज प्रस्तुति दिइन्। यसैबीच दुर्घटना भएपछि नोराले पहिलोपटक सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएकी छन्।
इन्स्टाग्राम स्टोरीमा दुर्घटनाको छोटो भिडिओ साझा गर्दै यसलाई आफ्नो जीवनको सबभन्दा भयानक र दर्दनाक क्षणहरूमध्ये एक भएको उल्लेख गरेकी छन्।
उनले आफ्नो टाउको कारमा ठोक्किएको बताएकी छन्। नोराका अनुसार नशामा सवार एक चालकले उनको कारमा ठक्कर दिएको थियो। ठक्कर दिँदा टाउको झ्यालमा ठोक्किएको नोराको भनाइ छ।
दुर्घटनापछि उनले तत्काल चेकजाँच गराएको र हाल आराम गरिरहेको जानकारी दिएकी छन्। आफू अझै केही पीडामा रहे पनि जीवित र सुरक्षित रहेकोमा उनले आभार व्यक्त गरेकी छन्। साथै, यस्तो दुर्घटनाले मानसिक रूपमा पनि असर पारेको उल्लेख गर्दै उनले सबैलाई मदिरा सेवन गरेर सवारी नचलाउन आग्रह गरेकी छन्।