दक्षिण भारतीय अभिनेता राम चरण अभिनीत नयाँ तेलुगू फिल्म 'पेड्डी' को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
यसअघि मार्चमा रिलिज हुने भनिएको फिल्म अब अप्रिलमा प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले फिल्म आगामी अप्रिल ३० (बैशाख १७) मा विश्वभर रिलिज गर्ने घोषणा गरेको छ।
अभिनेता राम चरणले सामाजिक सञ्जालमार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म अप्रिल ३० देखि दर्शकमाझ आउने जानकारी दिएका छन्।
मार्च महिनामा अन्य ठूला भारतीय फिल्महरू प्रदर्शनमा आउने भएपछि बक्स अफिस प्रतिस्पर्धाबाट बच्न 'पेड्डी' को रिलिज मिति सारिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सोही महिनामा रणवीर सिंह अभिनीत 'धुरन्धर २', यशको 'टक्सिक' तथा पवन कल्याणको 'उस्ताद भगत सिंह' जस्ता प्रतिक्षित फिल्महरू रिलिज हुने तयारीमा छन्।
'पेड्डी' बुच्ची बाबु सानाको लेखन तथा निर्देशनमा बनेको हो। एक खेलकुदमा आधारित फिल्ममा राम चरण मुख्य भूमिकामा देखिँदैछन्। फिल्ममा जाह्नवी कपूर महिला मुख्य भूमिकामा छिन्। साथै, शिवराजकुमार, जगपथी बाबु र अन्य कलाकारहरूको पनि अभिनय छ।
