भारतीय अभिनेत्री तथा मोडल नोरा फतेहीको नयाँ गीत विवादमा तानिएको छ।
कन्नड फिल्म 'केडीः द डेभिल' मा समावेश गीत 'सर्के चुनर तेरी सर्के' को शब्द र प्रस्तुतिलाई लिएर आलोचना भएको हो।
रकिब आलमको शब्द, अर्जुन जान्याको संगीत रहेको गीतमा मंगलीको स्वर छ। यसको भिडिओमा नोरासँगै अभिनेता संजय दत्त पनि देखिएका छन्। गीत रिलिज भएपछि सामाजिक सञ्जालमा धेरैले यसको शब्द र दृश्यलाई अश्लील र अनुचित भन्दै आलोचना गरेका छन्।
निर्देशक ओनिरले पनि यस विषयमा आफ्नो असन्तोष व्यक्त गर्दै भारतको फिल्म सेन्सर बोर्डलाई प्रश्न गरेका छन्। उनले यस प्रकारको गीत युवा र बालबालिकाले सजिलै प्रयोग गर्न सक्ने माध्यमहरूमा उपलब्ध हुनु उचित नभएको बताएका छन्।
सेन्सर बोर्डले केही मामिलामा कठोर निर्णय लिने गरे पनि यस प्रकारको गीतलाई खुला रूपमा राख्न अनुमति दिनु अचम्मको कुरा भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
चर्चित गायक अर्मान मलिकले पनि यसलाई व्यावसायिक गीत लेखनमा तल्लो स्तर भन्दै आफ्नो असन्तुष्टि जनाएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो गीत सुन्दा मैले फेरि सुन्नुपर्यो, विश्वास नै लागेन। व्यावसायिक गीतलेखन यस्तो तल झरेको देख्दा दुःख लाग्यो।'
'केडीः द डेभिल' अन्डरवर्ल्ड कथामा आधारित फिल्म हो। यसमा सञ्जय दत्त, ध्रुव सरजा, शिल्पा शेट्टी र रीश्मा ननैयाहजस्ता कलाकारहरूको अभिनय छ। फिल्म ३० अप्रिल २०२६ मा प्यान-इन्डिया रिलिजको तयारीमा छ।