बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' को प्रदर्शन मिति पछि सारिएको छ।
यसअघि अप्रिल १० (चैत २७) देखि प्रदर्शनमा आउने भनिएको फिल्म अब अप्रिल १७ (बैशाख ४) मा रिलिज हुने भएको हो।
रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ को ऐतिहासिक व्यापार र शो काउन्ट दबाबका कारण यो निर्णय लिइएको हो। बलिउड हंगामाले स्रोतलाई उद्धित गर्दै जनाएअनुसार जियो स्टुडियोजका वितरक प्रमुख दीपक शर्माले मल्टिप्लेक्सहरूलाई कडा निर्देशन दिएका दिए। उनले 'धुरन्धर २' लाई अप्रिल दोस्रो हप्तामा पनि १० हजार शो सुनिश्चित नगरे फिल्मको केडीएम फिर्ता लिने चेतावनी दिएका थिए।
'धुरन्धर २' को रेकर्ड ब्रेक रनलाई ध्यानमा राख्दै कुनै पनि प्रदर्शकले जोखिम मोल्न तयार नभएको स्रोतले बताएको छ। 'भूत बंगला' टिमले अन्तिम समयसम्म अप्रिल १० मा सम्मानजनक रिलिजका लागि प्रयास गरेको थियो। यद्यपि, पर्याप्त स्क्रिन र शो नपाउने देखिएपछि अन्ततः एक हप्ता पछि सार्ने निर्णय गरेको हो।
फिल्मका निर्माता तथा कलाकारहरू विवादबाट टाढा रहँदै राम्रो रिलिज अवसरको खोजीमा मिति परिवर्तन गर्न सहमत भएको बताइएको छ।
नयाँ रिलिज मिति अप्रिल १७ को औपचारिक घोषणा भने भइसकेको छैन।
प्रियदर्शन निर्देशित 'भूत बंगला' मा अक्षय कुमारसहित वामिका गब्बी, परेश रावल, तब्बु, मिथिला पाल्कर, जिशु यू सेनगुप्ता, मनोज जोशी, राजपाल यादवलगायत कलाकारहरूको अभिनय छ।
शोभा कपूर, एकता आर कपूर र अक्षय कुमार फिल्मको निर्माता हुन्।
यो फिल्म नेपालमा समेत प्रदर्शनमा आउने तयारी छ।