जुनियर एनटीआर अभिनीत बहुप्रतीक्षित फिल्म 'ड्रयागन' को पहिलो झलक सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार राति फिल्मको आधिकारिक शीर्षकसँगै पहिलो झलक रिलिज गरेको हो।
सार्वजनिक भिडिओ झलकमा एनटीआर शक्तिशाली एक्सन अवतारमा देखिएका छन्। उक्त भिडिओले दर्शकलाई निर्देशक प्रशान्त नीलका अघिल्ला ब्लकबस्टर फिल्म 'केजीएफ' र 'सलार'को सम्झना दिलाउँछ।
'ड्रयागन'को झलक मुख्यतया फिल्मका पात्रहरूको परिचयात्मक भिडिओ हो, जुन अनिल कपूरको प्रहरी भूमिकाको पावर-प्याक प्रस्तुतीकरणको साथ समाप्त हुन्छ। ४ मिनेट २८ सेकेन्ड लामो झलकमा भारतको इतिहास, स्वतन्त्रता अघिको र पछिको अफिम व्यापारको पृष्ठभूमिबाट कथा सुरू हुन्छ।
जुनियर एनटीआरले फिल्ममा निर्दयी हत्याराको भूमिका निर्वाह गरेका छन्, जो अफिम व्यापार नियन्त्रण गर्न खोज्ने अपराधीहरूको संसारमा देखिन्छन्।
एक दृश्यमा उनी शवहरूको थुप्रोमाथि उभिएको देखिन्छन् भने अर्को दृश्यमा उनी एक्लै दर्जनौं शत्रुसँग भिडिरहेका छन्। फिल्मको लोकेसन, कलर प्यालेट र एक्सन प्रस्तुति 'सलार'का कोइला खानी र 'केजीएफ'का सुन खानी सेटअपसँग मिल्दोजुल्दो देखिएको भन्दै दर्शकहरूले तुलना गरेका छन्।
झलकमा जुनियर एनटीआरसँगै अनिल कपूरको प्रहरी भूमिकालाई पनि शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ। साथै, बिजु मेनन, रूक्मिणी वसन्त, खुश्बु सुन्दर, गुरू सोमासुन्दरम, राजीव कनकला, आशुतोष राणा, अंशुमान पुष्कर, सिद्धान्त गुप्ता, प्रभास श्रीनु, शत्रु, शिवा र भीमल जीत ओबरोयलगायत कलाकारहरूको पहिलो झलक पनि सार्वजनिक गरिएको छ।
'ड्रागन' को प्रदर्शन मिति सन् २०२७ जुन ११ लाई तय गरिएको छ। फिल्मलाई मिथ्री मुभी मेकर्स र एनटीआर आट्र्सको ब्यानरमा निर्माण गरिएको हो।
फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुने जनाइएको छ।