भारतीय अभिनेता रणवीर सिंह पछिल्लो समय ठूलो विवादमा तानिएका छन्। निर्माण तयारीमा रहेको फिल्म 'डन ३' लाई लिएर उनी विवादमा तानिएका हुन्।
रणवीरले यो फिल्म अचानक छाडेपछि भारतीय फिल्मकर्मीहरूको संगठन 'फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज' ले उनीमाथि अस्थायी प्रतिबन्ध घोषणा गरेको छ। यो विषय अहिले बलिउडमा चर्चाको केन्द्र बनेको छ।
निर्देशक, निर्माता तथा अभिनेता फरहान अख्तरले सन् २०२३ मा 'डन ३' घोषणा गरेका थिए। यसअघि शाहरूख खान अभिनीत 'डन' र 'डन २' सफल भएपछि फ्रेन्चाइजको तेस्रो भागका रूपमा यो फिल्म निर्माण हुन लागेको थियो। यसपटक मुख्य भूमिकामा रणवीर सिंहलाई अनुबन्ध गरिएको थियो।
फिल्मको प्रारम्भिक चरणमा अभिनेत्री कियारा आडवाणी पनि जोडिएकी थिइन्। तर गर्भावस्थाका कारण उनले फिल्म छाडेपछि निर्माण प्रक्रिया केही प्रभावित भएको बताइएको थियो। त्यसपछि फिल्मको छायांकन पटक-पटक सर्दै गयो।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंह र निर्माण टोलीबीच स्क्रिप्टलाई लिएर मतभेद सुरू भएको थियो। निर्माता पक्षको दाबीअनुसार रणवीरले फिल्ममा थप हिंसात्मक तथा गालीगलौजयुक्त दृश्य समावेश गर्न चाहेका थिए। तर निर्माण टोली त्यसमा सहमत नभएपछि विवाद चर्किएको बताइएको छ।
पछि रणवीरले फिल्म नै छाड्ने निर्णय गरे। यसले निर्माण पक्षलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ। प्रि-प्रोडक्सन, सेट तयारी र सुटिङ तालिका परिवर्तनमा ठूलो रकम खर्च भइसकेको भन्दै फरहान अख्तरले ‘प्रोड्युसर्स गिल्ड’मा उजुरी दिएका थिए। रिपोर्टअनुसार उनले करिब ४५ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
विवाद समाधानका लागि अभिनेता आमिर खानले समेत मध्यस्थताको प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर दुवै पक्षबीच सहमति हुन सकेन। त्यसपछि विवाद फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजसम्म पुगेको थियो। त्यहाँबाट रणवीर सिंहलाई तीनपटक नोटिस पठाएको बताइएको छ। तर रणवीर पक्षले यो कानुनी विषय भएकाले अदालतमार्फत समाधान हुनुपर्ने अडान राखेको थियो। अन्ततः मे २५ मा पत्रकार सम्मेलन गर्दै फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले रणवीर सिंहमाथि प्रतिबन्ध घोषणा गर्यो।
प्रतिबन्धपछि बलिउड उद्योग दुई धारमा विभाजित देखिएको छ। केहीले रणवीरको समर्थन गरेका छन् भने केहीले निर्माता पक्षको समर्थन गरिरहेका छन्। अभिनेता चंकी पाण्डेले आफू पनि एक समय यस्तै प्रतिबन्धको शिकार भएको अनुभव सुनाएका छन्। त्यस्तै अभिने मनोज बाजपेयीले विवाद चाँडै समाधान हुने आशा व्यक्त गरेका छन्।
निर्देशक सञ्जय गुप्ताले पनि प्रतिबन्धको आलोचना गर्दै यस्तो कदमले कलाकारभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक प्रभावित हुने बताएका छन्।
यता 'फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज' का प्रमुख सल्लाहकार अशोक पण्डितले भने निर्णयको गलत अर्थ लगाइएको बताएका छन्। उनले यो स्थायी प्रतिबन्ध नभई विवाद समाधान नभएसम्मका लागि गरिएको अस्थायी कदम भएको बताएका हुन्।
रणवीर सिंह पक्षले भने हालसम्म सार्वजनिक रूपमा विस्तृत प्रतिक्रिया दिएको छैन। उनका प्रवक्ताले रणवीरले फिल्म उद्योग र 'डन' फ्रेन्चाइजप्रति सम्मान राख्दै संयमता अपनाएको बताएका छन्।
रणवीर सिंह 'धुरन्धर' फ्रेन्चाइजबाट थप चर्चामा छन्। 'धुरन्धर' का दुवै भागले नेपालमा समेत ठूलो कमाइ गरेका थिए।