प्रतीक्षित भारतीय फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन-अप्स'को ट्रेलर सार्वजनिक भएको छ।
दक्षिण भारतीय अभिनेता यश अभिनीत फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको हो।
सार्वजनिक ४ मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता यश दोहोरो भूमिका र डार्क ग्याङ्स्टर लुकमा देखिएका छन्। ट्रेलरले हिंसा, विश्वासघात, शक्ति संघर्ष र रहस्यमय सम्बन्धले भरिएको ग्याङ्स्टर संसार प्रस्तुत गरेको छ।
ट्रेलरको सबभन्दा ठूलो आकर्षण भने यशको दोहोरो भूमिकालाई मानिएको छ। उनी 'राया' र 'रूमी' नामका दुई भिन्न पात्रमा देखिने संकेत ट्रेलरले दिएको छ।
यशको नयाँ स्टाइलिस र ग्याङ्स्टर अवतार ट्रेलरभरि हाबी देखिन्छ।
ट्रेलरका दृश्य, सिनेमाटोग्राफी, एक्सन कोरियोग्राफी र ब्याकग्राउन्ड स्कोरले फिल्मको भव्यता झल्काउँछन्। फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया, रूक्मिणी वसन्त मुख्य भूमिकामा छन्।
गितु मोहनदासको निर्देशनमा बनेको 'टक्सिक' पिरियड ग्याङ्स्टर एक्सन ड्रामा हो। यो फिल्म २६ अगस्ट (भदौ १०) देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ। नेपालमा पनि फिल्म सोही दिन रिलिज हुने तयारी छ।