बलिउड अभिनेता रणवीर कपूर स्टारर प्रतीक्षित फिल्म 'ब्रह्मास्त्र २'मा अभिनेत्री अनित पड्डाको अभिनय रहने भएको छ।
फिल्ममा उनलाई महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव गरिएको खबर सार्वजनिक भएको हो। अयान मुखर्जीको निर्देशनमा बन्ने फिल्मको पहिलो भाग 'ब्रह्मास्त्र पार्ट वानः शिवा' सन् २०२२ मा प्रदर्शनमा आएको थियो। रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा रहेको फिल्ममा अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको पनि महत्वपूर्ण भूमिका थियो।
बलिउड हंगामाका अनुसार 'सैयारा'बाट चर्चामा आएकी अनितलाई 'ब्रह्मास्त्र २'मा रणवीरको जोडीका रूपमा महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव गरिएको हो। उनी अहिले 'शक्ति शालिनी'मा काम गरिरहेकी छन्। यद्यपि, अनितको कास्टिङ भने अहिलेसम्म आधिकारिक रूपमा तय भइसकेको छैन।
स्रोतलाई उल्लेख गर्दै बलिउड हंगामाले अनिताका लागि फिल्मको भूमिका उनका यसअघिका कामभन्दा निकै फरक हुने जनाएको छ। रणवीरसँग उनको सम्भावित जोडीले फिल्ममा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ।
यसैबीच, फिल्ममा दीपिका पादुकोणको भूमिकालाई लिएर पनि अन्योल देखिएको छ। पहिलो भागको पोस्ट-क्रेडिट दृश्यमा दीपिकाको पात्रलाई संकेत गरिएको थियो। तर पछिल्लो जानकारीअनुसार, दीपिकाको टिमले उनी 'ब्रह्मास्त्र २'मा नरहेको स्पष्ट पारेको बलिउड हंगामाले जनाएको छ।
फिल्मको कलाकारहरूबारे आधिकारिक घोषणा हुन भने बाँकी छ।