नितेश तिवारी निर्देशित बहुप्रतीक्षित बलिउड फिल्म 'रामायण'मा अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिँदैछन्।
रणवीरलाई रामको भूमिकामा छनोट गरिएपछि उनको कास्टिङलाई लिएर चर्चा हुँदै आएको छ।
यहीबीच निर्माण टिमले सार्वजनिक गरेको पर्दापछाडिको भिडिओमा निर्देशक नितेश तिवारीले रणवीरलाई रामको भूमिकामा छनोट गर्नुको कारण खुलाएका छन्।
रणवीर कपूरको जन्मदिनको अवसरमा सोमबार सार्वजनिक उक्त भिडिओमा निर्देशक तिवारी, निर्माता नमित मल्होत्रा तथा कलाकार अरूण गोविल, रवि दुबे र साई पल्लवीले रणवीरलाई रामको भूमिकामा छनोट गर्नुको कारणबारे आफ्नो धारणा राखेका छन्। भिडिओमा निर्देशक तिवारीले रामको चरित्रका लागि कलाकार छनोट गर्नु निकै कठिन काम भएको बताएका छन्।
उनले भनेका छन्, 'हामी विश्वास गर्छौं कि रामका गुणमध्ये एक प्रतिशत मात्रै पनि आत्मसात् गर्न सकियो भने मानिस महान् बन्न सक्छ। त्यसैले उहाँ कस्तो महान् व्यक्ति हुनुहुन्थ्यो होला, कल्पना गर्नुस्। त्यसकारण श्रीरामको कास्टिङ लगभग असम्भवजस्तै छ। हामी केवल प्रयास गर्न सक्छौं।'
उनका अनुसार निर्माता नमित मल्होत्राले रणवीरको नाम प्रस्ताव गरेपछि आफूलाई पनि रणवीर उपयुक्त लागेका थिए।
'जब नमितले रणवीरको नामबारे कुरा गरे, मलाई पनि उनी आफूले खोजेका सबै मापदण्डमा फिट भएको लाग्यो,' भिडिओमा तिवारीले भनेका छन्।
फिल्ममा राजा दशरथको भूमिका निर्वाह गरेका अरूण गोविलले पनि रणवीरमा आफूले कल्पना गरेको रामका केही गुण देखेको बताएका छन्। रामानन्द सागरको चर्चित टेलिभिजन ‘रामायण’मा रामको भूमिका निर्वाह गरिसकेका गोविलले रणवीरको व्यवहारलाई समेत उनको भूमिकासँग जोडेका छन्।
'तपाईं कुनै स्टारलाई आएर आफ्नो खुट्टा ढोगेको अपेक्षा गर्नुहुन्न, तर उसले सधैं त्यसो गथ्र्यो,' गोविलले रणवीरबारे भनेका छन्।
युवा कलाकारमध्ये रणवीर आफूले कल्पना गरेको रामको चरित्रसँग सबभन्दा नजिक रहेको उनको भनाइ छ। रणवीरले भने आफूले भगवान् रामको भूमिकालाई केवल अर्को अभिनयको अवसरका रूपमा नलिएको बताएका छन्। उनका अनुसार रामको सबभन्दा ठूलो शक्ति धनुष–बाण नभई क्षमा गर्ने क्षमता थियो।
'यो मेरो लागि केवल अर्को भूमिका होइन। यो एउटा जिम्मेवारी हो,' रणवीरले भिडिओमा भनेका छन्।
निर्माता नमित मल्होत्राले पनि रणवीरको इमानदारी र अनुहार नै आफूहरूका लागि महत्वपूर्ण भएको बताएका छन्। साई पल्लवीले पहिलोपटक रणवीरलाई भेट्दा बाल्यकालमा कल्पना गरेको रामको आकृति सम्झिएको बताएकी छन्। रवि दुबेले पनि रणवीरको आँखामा आफूले सुन्दै आएको भगवान् रामको सरलता देखेको बताएका छन्।
नितेश तिवारी निर्देशित 'रामायण' दुई भागमा निर्माण भइरहेको छ। फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्। पहिलो भाग सन् २०२६ को दीपावली र दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ।