बलिउडमा कम बजेटका फिल्मले ठूलो सफलता हासिल गर्ने क्रमलाई 'हनुमान अंश'ले थप रोचक बनाएको छ।
करिब २ करोड भारूको बजेटमा बनेको यो फिल्मले विश्वभर ४ सय करोड भारूभन्दा बढीको व्यापार गरेको छ।
द इन्डियन एक्सप्रेसका अनुसार निर्देशक विशाल चतुर्वेदीको फिल्मले प्रदर्शनको ५२ औं दिनसम्म विश्वभर ४ सय करोड भारू पार गरेको हो। फिल्मले भारतमा मात्रै ३०७ करोड भारू नेट तथा ३६२.७ करोड भारू ग्रस कमाएको रिपोर्टमा उल्लेख छ।
नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत 'हनुमान अंश' नीम करोली बाबाको जीवनमा आधारित आध्यात्मिक फिल्म हो।
फिल्ममा शोभिनाव सत्याले नीम करोली बाबाको भूमिका निर्वाह गरेकी छन्। चन्दन के आनन्द, विहान शेड्ज, पूर्णिमा तिवारी, अनिल रस्तोगीेलगायत कलाकारको पनि अभिनय छ। विशाल चतुर्वेदीले नै फिल्मको लेखन तथा निर्देशन गरेका हुन्।
फिल्मको सुरूआती व्यापार भने निकै कमजोर थियो। प्रदर्शनको पहिलो दिन भारतमा फिल्मले करिब १० लाख भारू नेट कमाएको थियो। पहिलो दुई सातासम्म पनि यसको कमाइ अपेक्षाअनुसार हुन सकेको थिएन। पहिलो साताको अन्त्यसम्म फिल्मको कमाइ करिब १ करोड भारू मात्रै पुगेपछि हलमा यसको शोसमेत घटाइएको थियो।
तर दोस्रो सातापछि फिल्मको व्यापारमा क्रमशः सुधार आयो। सकारात्मक ‘वर्ड अफ माउथ’का कारण दर्शक बढ्दै गएपछि यसको शो र स्क्रिन संख्या पनि थपिँदै गयो। प्रदर्शनको चौथो सातासम्म आइपुग्दा फिल्मले भारतमा ४० करोड भारूभन्दा बढी कमाइसकेको थियो।
विदेशमा पनि फिल्मले राम्रो कमाइ गरेको छ। सेप्टेम्बर ११ बाट अन्तर्राष्ट्रिय प्रदर्शन सुरू भएको फिल्मले विदेशबाट ३८ करोड भारूभन्दा बढी ग्रस कमाएको संचारमाध्यमले जनाएका छन्।