अभिनेता राजकुमार रावको चर्चित फिल्म 'शाहिद' प्रदर्शनको १३ वर्षपछि ओटीटीमा आएको छ। हंसल मेहताको निर्देशनमा बनेको यो फिल्म अहिले प्राइम भिडिओमा हेर्न सकिने भएको हो।
सन् २०१३ मा हलमा प्रदर्शन भएको 'शाहिद'ले अभिनेता राजकुमार राव र निर्देशक हंसल मेहतालाई राष्ट्रिय चलचित्र पुरस्कार दिलाएको थियो। सन् २०१४ मा फिल्मका लागि राजकुमारले उत्कृष्ट अभिनेता र हंसलले उत्कृष्ट निर्देशकको पुरस्कार जितेका थिए।
फिल्ममा राजकुमारले मानवअधिकारका विषयमा काम गरेका वकिल शाहिद आजमीको भूमिका निर्वाह गरेका छन्। सन् २०१० मा हत्या गरिएका आजमीको जीवनमा आधारित फिल्मले उनको संघर्ष र कानुनी लडाइँको कथा प्रस्तुत गर्छ।
फिल्म लामो समयसम्म कुनै प्रमुख ओटीटी माध्यममा उपलब्ध नभएपछि यसको लेखक तथा सम्पादक अपूर्व असरानीले पनि यसको ढिलो ओटीटी आगमनबारे प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत 'शाहिद'ले ओटीटीमा स्थान पाउन १३ वर्ष लागेको भन्दै आफूलाई यसको कारणबारे लामो समयदेखि जिज्ञासा रहेको बताएका छन्।
'शाहिद'ले सन् २०१२ मा टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुँदै अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो। त्यसपछि भारतमा सन् २०१३ मा हलमा प्रदर्शन भएको थियो।
फिल्ममा राजकुमार राव, मोहम्मद जिशान अय्युब, प्रभलीन सन्धुलगायत कलाकारको अभिनय छ।