राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म 'स्त्री'को तेस्रो श्रृंखला सन् २०२८ मा प्रदर्शनमा आउने भएको छ। यसअघि 'स्त्री ३' सन् २०२७ को अगस्टमा रिलिज हुने घोषणा गरिएको थियो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार निर्माता दिनेश विजनले 'स्त्री ३'को कथा लेखन पूरा भइसकेको र फिल्म सन् २०२८ मा आउने जानकारी दिएका हुन्। उनका अनुसार निर्देशक अमर कौशिकले फिल्मको कथा लेखिसकेका छन्।
विजनका अनुसार अमर कौशिकले यसअघि 'महावतार'को काम पूरा गर्नेछन्। त्यसपछि सन् २०२७ को अन्त्यतिर 'स्त्री ३'को छायांकन सुरू गर्ने तयारी छ। फिल्मलाई सन् २०२८ को स्वतन्त्रता दिवस वा क्रिसमसको अवसरमा प्रदर्शन गर्ने सम्भावना रहेको उनले बताएका छन्।
'स्त्री ३'को कथाबारे भने विजनले धेरै खुलाउन चाहेनन्। उनले फिल्ममा अघिल्ला श्रृंखलामा दर्शकले मन पराएका पक्षहरू रहने भए पनि यसको सुरूआत र अन्त्य भने पूर्ण रूपमा नयाँ र अप्रत्याशित हुने संकेत गरेका छन्।
'स्त्री' सन् २०१८ मा रिलिज भएको थियो भने यसको दोस्रो श्रृंखला 'स्त्री २' सन् २०२४ मा आएको थियो। 'स्त्री २' ले भारतमा ६ सय करोड भारुभन्दा बढी कमाइ गरेको थियो।
राजकुमार राव र श्रद्धा कपुर मुख्य भूमिकामा रहेको यो श्रृंखला म्याडडक फिल्म्सको हरर-कमेडी ब्रह्माण्डको हिस्सा हो।